– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको छ। 

गत साता १९३३.५५ मा बन्द भएको बजार यो साता १९६१.०७ मा बन्द भएको छ। यो हिसाबले बजारमा यो साता २७.५२ अंकले सुधार आएको छ। गत साता भने बजार ३.२९ अंकले घटेको थियो। 

यो साता ६ अर्ब ३७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यो हिसाबले बजारमा दैनिक औसत लगभग १ अर्ब २७ करोड रुपैयाँबराबर कारोबार भएको छ। गत साता जम्मा ३ दिनको करोबारमा ३ अर्ब २६ करोड रुपैयाँबराबर सेयर किनबेच भएको थियो। 
गत साताको तुलनामा यो साता नेप्से परिसूचक र कारोबारमा सामान्य सुधार भएको देखिन्छ। 

प्राविधिक पक्ष

सेयर बजार तथा डेरिभेटिभ बजारमा सिमेट्रिकल ट्रयांगल भनेको त्यस्तो अवस्थाको साइडवेज बजार हो, जहाँ बजार सपोर्टलाई ब्रेक गरेर घट्न पनि सकेको हुँदैन र प्रतिरोधलाई ब्रेक गरेर माथि जान पनि सकेको हुँदैन। पछिल्लोपटक बजार खासगरी गत अगस्ट पहिलो सातादेखि खस्न सुरु गरेको देखिन्छ भने सेप्टेम्बरको पहिलो सातादेखि हालसम्म बजारमा एक किसिमको कन्सोलिडेसन (ठूलो अंकले तल–माथि हुन नसकेको) अवस्था देखिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)

अझ प्रस्ट रुपमा सबैले बुझ्ने गरी भन्नुपर्दा पछिल्लो ४ महिनामा १९९० को विन्दुलाई ब्रेक आउट गरेर माथि जान पनि सकेको छैन भने १८०६ को विन्दुलाई ब्रेक डाउन गरेर तल पनि जान नसकेको अवस्था सेयर बजारमा  देखिन्छ। यसलाई प्राविधिक रुपमा रेखा तानेर हेर्ने हो भने एक किसिमको सिमेट्रिकल ट्रयांगल बनेको अवस्था अहिलेको बजारमा देखिन्छ। 

यो साता १९६१ मा बन्द भएको बजार यदि आगामी साता लगभग २००० हजारभन्दा माथि भोलुमसहित जान्छ भने बजारमा एउटा बलियो प्रतिरोधको ब्रेक आउट हुनेछ। (माथि मुख्य तस्बिर हेर्नुहोस्)

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआई

साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा यो साता पनि मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि जान सकेको छैन। तर, दैनिक चार्टमार्फत हेर्दा भने मूल्यरेखाले लामो समयदेखि मध्य ब्यान्डभन्दा माथि–माथि कारोबार भएको छ। यसले बजार मजबुत नै रहेको तर मुभमेन्ट भने आउन नसकेको बुझिन्छ। 

साप्ताहिक रुपमै बजारलाई म्याक्डीमार्फत हेर्दा गत १६ अक्टोबरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्रामहरु पनि पोजिटिभ र लामा–लामा नै छन्।

साप्ताहिक चार्टमा नै आरएसआई ३० को ओभर सोल्ड जोनबाट फर्केर हाल ४५ को न्युट्रल जोनमा पुगेको छ। यी सबै इन्डिकेटरमार्फत पनि बजार साइडवेज नै चलेको देखिन्छ। 

पिभट् प्वइन्टका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १९५८
  • प्रतिरोध २– १९८४
  • प्रतिरोध ३– २००७

पिभट प्वइन्ट: १९३५

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९१० 
  • सपोर्ट २– १८८७
  • सपोर्ट ३– १८६२

निष्कर्ष

यो साता पनि बजार साइडवेजमै चलेको छ । गत साताको तुलनामा कारोबार, भोलुम तथा सूचकमा भने सामान्य अंकको सुधार भएको देखिन्छ। तर, बजारले स्पष्ट दिशा भने निर्धारण गर्न सकेको छैन। 

प्राविधिक रुपमा पनि सिमेट्रिकल प्याट्रन बनाएको तर माथिको तहलाई ब्रेक आउट पनि गर्न नसकेको तथा तलको विन्दुलाई ब्रेक डाउन पनि गर्न नसको अवस्था अहिले सेयर बजारमा देखिन्छ। तर, बजारले माथिको यात्रा तय गर्न सिमेट्रिकल ट्रयांगलको पहिलो प्रतिरोध १९९० लाई नै भोलुमसहित ब्रेक गरेर माथि लाग्नुपर्छ। त्यसपछि भने बजारले क्रमशः २०८६ तथा २२२२ तिर प्रतिरोध सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।