काठमाण्डौ । सिरियामा रासायनिक हमलापछि अमेरिका आक्रामक बनिरहेको छ। उसले सिरियामाथि  मिसाइलबाट हमला गरेको छ । यो घटनापछि रुस र अमेरिकाबीचको खटपट समेत सुरु भइसकेको छ । तनाव यो रुपमा बढेको छ कि, केही विश्लेषकहरुले त अब तेश्रो विश्वयुद्ध सुरु हुने चेतावनी नै दिन थालिसकेका छन् । यहीकारण विश्वभरिको सेयरबजारमा गिरावट आउन थालेको छ । सिरियामाथि अमेरिकी मिसाइल बर्सिँदा यसको असर तपाईको गोजीमा समेत पर्नसक्ने देखिएको छ, कारण हो अचानक कच्चा तेलको मूल्यमा आएको उछाल । यदि यो क्रम जारी रह्यो भने कच्चा तेलको मूल्य उचाईमा पुुग्ने र यसले नेपालजस्तो देशमा बिक्री हुने पेट्रोलियम पदार्थको मूल्य बढेसँगै महंगी दरमा समेत वृद्धि हुने अनुमान गर्न थालिएको छ । 

सिरियाको ग्लोबल पेट्रोलियम सप्लाईमा मात्र ०.०४ प्रतिशत हिस्सा छ । यो प्रतिशत क्यूूबा, न्यूजिल्याण्ड तथा पाकिस्तान भन्दा पनि कमी हो । तर, सिरियाको छिमेकमा रहेका कयौं देश तेल उत्पादनका विश्वकै मुख्य देश हुन् । सिरियाको सीमा इराकसँग जोडिएको छ, जुन तेल उत्पादक देशहरुको संगठन ओपेकको दोश्रो ठूलो सदस्य हो । यसपछि लगत्तै साउदी अरब र इरान जस्ता तेल उत्पादन गर्ने ठूला देश समेत जोडिएका छन् । 

सिरियाबाट तुर्कीको बन्दरगाह पनि धेरै टाढा छैन, जहाँबाट कुर्दिस्तानको जहाज समेत उड्ने गर्छ । सिरियाका लागि आमनेसामने भइसकेका दुुई देश अमेरिका र रुस पनि ठूला क्रूड(कच्चा तेल) उत्पादक देश हुुन् । यहीकारण, शुक्रबार जब सिरियामा अमेरिकी मिसाइल बर्सिएको खबर आयो, तब ग्लोबल मार्केटमा तेलको मूल्यमा २ प्रतिशतसम्म बढोत्तरी भयो । सो दिन कच्चा तेलको मूल्य प्रति ब्यारेल ५५.५९ डलर कायम भएको थियो । यही कारण सुन र चाँदीको मूल्यमा समेत क्रमशः ०.९९ र ०.९३ प्रतिशतको वृद्धि देखियो । 

अन्तर्राष्ट्रिय क्षेत्रका विश्लेषकहरुले भनेका छन्–‘दुुई ठूला तेल उत्पादक अमेरिका र रुस आमनेसामने छन् । भूराजनीतिक जोखिम निकै बढेको छ र यसको प्रत्यक्ष असर तेलको मूल्यमा प्रष्ट देखिएको छ । तर, ताजा मिसाइल आक्रमणपछि यदि अमेरिका शान्त भयो भने चाहि मूल्यमा गिरावट पनि आउनसक्छ ।’ 

नेपालमाथि असर
नेपालले देशलाई आवश्यक पेट्रोलियम पदार्थ सबै भारतबाट आयात गर्छ । भारतले आयात गर्ने कच्चा तेलमध्ये ८० प्रतिशत बढी मध्यपूर्वी देशबाट ल्याउँछ । जब विश्वस्तरमा कच्चा तेलको मूल्य घट्छ तब भारतले नेपाललाई दिने तेलको मूल्य समेत घटाएर पठाउँछ, जब बढ्छ तब नेपालको तेलको भाउ समेत बढ्छ । यसले आयात बजेट बढाउने, ढुवानी खर्च बढाई समग्र उपभोक्ता मुद्रास्फिति नै उचाईमा पुुग्ने डर हुन्छ । 

स्मरण रहोस्, २०१६ फेब्रुुअरीमा कच्चा तेलको मूल्य अहिलेसम्मकै सबैभन्दा कम प्रति ब्यारेल ३३.६२ डलर कायम भएको थियो भने सबैभन्दा बढी सन् २००८ मा प्रति ब्यारेल १४० डलरको उचाईमा पुुगेको थियो ।