काठमाण्डौ । बोनस सेयरका लागि सिर्जना फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेप्सेले गत आर्थिक वर्षका लागि सिर्जना फाइनान्सले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार सिर्जना फाइनान्सको सेयर प्रतिकित्ता २०५.२२ रुपैयाँ कायम गरिएको छ ।

अब यही नयाँ समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबार खुल्नेछ ।

संस्थाले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज शुक्रबारदेखि बुक क्लोज गरेको छ । हिजो बिहीबारसम्म कायम सेयरधनीहरुमात्र संस्थाका यही माघ ११ गते शनिबार विराटनगस्थित उद्योग संगठनको सभाकक्षमा हुने १८ औँ वार्षिक साधारणसभामा भाग लिन र सोही सभाले पारित गर्ने गत आर्थिक वर्षको लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ५ लाख ८७ हजार ६८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ५८ लाख २० हजार ४०४ रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ ।

सभामा अन्य कुनै एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थासित आपसमा गाभ्ने र गाभिने सम्बन्धमा कम्पनीको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्ने मूल्यांकनकर्ताको नियुक्ति गर्नेलगायतका गाभिने सम्बनधी सम्पूर्ण प्रक्रिया र कार्य गर्न सञ्चालक समितिलाई अख्तियार दिने निर्णय पनि सभाले पारित गर्नेछ ।