काठमाण्डौ । टेक्नोलोजी स्टार्टअपहरुमा लगानी गर्ने अमेरिकी कम्पनी वाई कम्बिनेटरका प्रमुख ग्यारी ट्यानले सिलिकन भ्याली बैंक डुब्नुमा ठूलो दाबी पेस गरेका छन्। अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन र अन्य प्रशासकहरुलाई लेखेको पत्रमा उनले बैंक टाट पल्टिँदा १ लाखभन्दा बढीको रोजगारीमा संकट उत्पन्न भएको अनुमान गरेका छन्। 

यसका साथै उक्त बैंक बन्द हुँदा १० हजारभन्दा बढी स्टार्टअपमा नराम्रो प्रभाव पर्ने ट्यान बताउँछन्। ५६ हजारभन्दा बढी कर्मचारीहरुको प्रतिनिधित्व गर्ने १ हजार २०० भन्दा बढी सीईओ र संस्थापकहरुले वाई क्याम्बिनेटर सीईओ र अध्यक्ष ग्यारी ट्यानद्वारा स्टार्टअपहरु र लाखौँ रोजगारीहरु बचाउन आह्वान गरेको पत्रमा हस्ताक्षर गरेका छन्।

नेसनल भेन्चर क्यापिटल एसोसिएसनको तथ्यांकअनुसार सिलिकन भ्याली बैंकसँग ३७ हजारभन्दा बढी साना व्यवसाय खाताहरु छन्। जसमा २ लाख ५० हजारभन्दा बढी निक्षेपहरु छन्। पत्रमा भनिएको छ, ‘बैंक टाट पल्टेपछि यो बाँकी रकम लामो समयसम्म नआउने डर उत्पन्न भएको छ।’ 

वाई कम्बिनेटर समुदायका एक तिहाइ स्टार्टअपले उक्त बैंकमा रहेको आफ्नो खातामात्र पैसा राख्ने गर्थे। रकम झिक्न नसक्दा तलब तिर्ने संकटले गर्दा १० हजारभन्दा बढी साना व्यवसायी र स्टार्टअपलाई असर पर्ने पत्रमा उल्लेख छ। एउटा सानो स्टार्टअपले १० जनालाई पनि रोजगारी दिन्छ भने १० हजारका आधारमा एक लाखको रोजगारीमा प्रत्यक्ष खतरा हुन्छ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले आइतबार सरकारले सिलिकन भ्याली बैंकलाई कुनै राहत नदिने बताएकी छन्। तर, आफ्नो पैसाको चिन्तामा परेका निक्षेपकर्तालाई सरकारले सहयोग गर्ने प्रयास गरिरहेको उनले बताइन्। 

येलेनले करिब १५ वर्षअघि उद्योग जोगाउन बैंक बेलआउट दिँदाको आर्थिक संकटभन्दा अहिलेको अवस्था निकै फरक रहेको बताइन्। ‘अमेरिकी बैंकिङ प्रणाली वास्तवमा धेरै सुरक्षित र राम्रो पुँजीकरण भएको छ’, उनले भनिन्। –एजेन्सी