काठमाण्डौ । मर्जर प्रक्रियालाई स्वीकृत गर्न सिवाईसी नेपाल र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन विशेष साधारणसभा डोकेका छन्। 

यी दुवै लघुवित्तले आउँदो असोज ७ गते विशेष साधारणसभा डोकेका हुन्। आँधिखोलाको सभा स्याङ्जाको वालिङस्थित होटेल गाउँबेसीको सभामा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सिवाईसी नेपालको सभा भने कास्कीको पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

दुवै सभाले आपसमा मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन अनुमोदन गर्नेछन्। मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त पैतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात पनि दुवै सभाले पारित गर्नेछन्। 

दुवै सभाले मर्जर सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका कामकारबाही र खर्च अनुमोदन तथा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने छन्। संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि दुवै सभाले पारित गर्नेछन्। 

मर्जरसम्बन्धी आवश्यक काम गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि दुवै सभाले स्वीकृत गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि दुवै लघुवित्तले भदौ २९ गतेदेखि असोज ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तको सेयर कारोबार गत असार २३ गतेबाट रोक्का रहेको छ।