काठमाण्डौ । नागरिक लगानी कोषले हालसालै ल्याएको नागरिक पेन्सन योजनामा अब देशका जुनसुकै स्थानबाट पनि इच्छुकले सहभागिता जनाउन पाउने भएका छन् ।

कोषले सञ्चालनमा ल्याएको नागरिक पेन्सन योजनामा उपत्यकाबाहिरका सहभागीहरुले उक्त योजनामा सहभागी हुन चाहेमा अनलाइनबाटै सहभागी हुनसक्ने भएका हुन् ।

नागरिक लगानी कोषका केन्द्रीय कार्यालय काठमाण्डौ नयाँ बानेश्वर, बिराटनगर र पोखरामा उपस्थित भई नागरिक पेन्सन योजनामा सहभागी हुन भौतिक उपस्थिति हुन नसके तापनि कोषको वेबसाइटमा उपलब्ध केवाइसी फारम भरेर उक्त फारमलाई स्क्यान वा स्न्याप गरी नागरिकताको प्रतिलिपिसहित नागरिक पेन्सन योजनाको इमेल ठेगाना citpension@gmail.com मा पठाउनुपर्नेछ।

केवाइसी फाराम भरेर उक्त फारमलाई स्क्यान वा स्न्याप गरी नागरिकताको प्रतिलिपिसहित नागरिक पेन्सन योजनाको इमेल ठेगानामा पठाइएको फारामलाई नागरिक पेन्सन योजना प्रणालीमा प्रविष्ट गरिन्छ । यसपछि उक्त सहभागी व्यक्तिलाई पेन्सन नम्बरसहितको ई नागरिक पेन्सन योजना परिचयपत्र सोही इमेल ठेगानामा उपलब्ध गराइने कोषले जनाएको छ ।

पेन्सन नम्बर प्राप्त गरिसकेपछि भने पेन्सन योजनामा सहभागीले एनआइसी एसिया बैंक थापाथली शाखामा रहेको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा रकम जम्मा गरी वा अन्य विद्युतीय भुक्तानी माध्यम(इसेवा, कनेक्ट आइपीएस) बाट पनि रकम ट्रान्सफर गरी बैंक भौचर वा ट्रान्सफर रिपोर्टमा पेन्सन योजना नम्बर र रकम जम्मा गरिएको महिना उल्लेख गरी इमेल गर्नुपर्ने कोषस्थित नागरिक पेन्सन योजनाले जानकारी दिएको छ ।