काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन भएको छ। 

सीआईटीको आज सम्पन्न २६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ९ प्रतिशत बोसन सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

सीआईटी सञ्चालक समिति प्राडा रामचन्द भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गरेको छ। 

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितिको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो। सीआईटीले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समयदेखिको आकांक्षालाई मूर्त रुप दिई यो वर्ष आफ्नै भवनभित्रबाट भुर्चयल संचालन गरेको हो। 

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले सीआईटीको वस्तुस्थितिबारे जानकारी दिएका थिए। 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सीआईटीले रु. १ खर्व ७२ अर्ब रकम संकलन र रु. १ खर्ब ७१ अर्ब ९७ करोड लगानी गरेको छ । यस आवमा सीआईटीको पुँजी वृद्धि हुनका साथै कारोबार विस्तार भई विगतदेखि सञ्चालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजारसम्बन्धी सेवासमेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन्। 

सीआईटीको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ। खुद नाफामध्ये बाँडफाँड योग्यरकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ। 

सीआईटीको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम सुरु गरिसकेको छ। देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले सीआईटीकै अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार सुरु भएको छ।  

सीआईटीद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेब बेस्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ। यसका साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ। नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ।