काठमाण्डौ। नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजनाअन्तर्गत कार्यालय तथा संघसंस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ। 

यसअन्तर्गत संघसंस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टल (http://eservice.nlk.org.np/) मार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी  गर्न सक्दछन्। यसरी रु. २० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि रु. २० करोड सम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ। 

बैंक तथा वित्तीय संस्थाका संस्थागत ग्राहकले आवश्यक विवरण उपलब्ध गराई बैंक तथा वित्तीय संस्थामार्फत सो रकम जम्मा गर्न सक्दछन्। यसका साथै संघ–संस्था आफैँले पनि कर्पोरेटपेमार्फत उक्त  भुक्तानी खाताबाटै गर्न सक्दछन्। यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ। 

संस्थागत ग्राहकले https://corporatepay.connectips.com मा लग–इन गरी Service Payment भित्र रहेको Government Paymentअन्तर्गत CIT Phatbari मा सब्मिसन नम्बर तथा अफिस कोड दाखिला गरी कर्पोरेटपेमा लिंक गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्दछन्। 

यसरी बैंक शाखा तथा कर्पोरेटपेमार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाखभन्दा बढी ग्राहकलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ।  

नागरिक लगानी कोषले एनसीएचएलका कनेक्टआईपीएस तथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाइल बैंकिङलगायतका प्रणालीमार्फत कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ भने उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरुको प्रयोग गर्दै आएको छ।