काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ।

कम्पनीले गत असोज ३० गतेबाट सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयर प्रतिकित्ता न्यूनतम १ हजार ९७५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले आज बैंकिङ समयसम्म काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्टको कार्यालय वा नक्सालमै रहेको प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ता वा १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्।