काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले अवितरित हकप्रद सेयर आज शुक्रबार (फागुन २१ गते) बाट लिलामीमा राखेको छ। 

कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा खरिद आवेदन नपरेका कुल ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर कोषले लिलामीमार्फत बेच्न लागेको हो। 

लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। यसको लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी आवेदन दिनुपर्नेछ। 

लगानीकर्ताहरुले आवेदन दिन न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन। 

आवेदन काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, रुपन्देही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर र महेन्द्रनगरबाट तथा नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर तथा पोखराबाट पनि आवेदन पेस गर्न सक्नेछन्। 

आवेदन चैत २ गतेसम्म पेस गर्न सकिने आरबीबी मर्चेन्टले जनाएको छ।