– अर्जुन तिमिल्सिना

काठमाण्डौ। हिजोआज सेयर बजारमा अचाक्ली आकर्षण बढ्दै गइरहेको छ। पुरानासँगै नयाँ लगानीकर्ताहरु सक्रिय रुपमा सेयर कारोबार गरिरहेका छन्। अनलाइन प्रणालीको विकाससँगै सेयर कारोबार झनै सहज बनेको छ। 

यो साता नेप्से परिसूचकले नागबेली आकारले आफ्नो बाटो तय गरेको छ। अहिले परिसूचक २५०० माथि पुगेको छ। यो साता बजारमा १७५ अंकको उत्तारचढाव भयो भने नेप्सेमा ८२.५५ अंकको गिरावट आयो। अन्तिम कारोबार दिन बिहीबार बजार सम्हालिएर लगानीकर्तालाई शानदार ९० अंकको प्रतिफल दिएको छ।

विश्लेषकहरु भने अहिले बजार बुलिस ट्रेन्डमा रहेको जिकिर गरिरहेका छन्। पहिलेको भन्दा अहिलेको बजारमा सेक्टरवाइज बुलिस ट्रेन्ड देखिएको उनीहरुको ठहर छ। 

सेयर बजारमा लगानीकर्ताहरु विशेषगरी दुई थरीका हुन्छन्। एक थरी उच्च जोखिम लिने अर्थात रिस्क टेकर र अर्को थरी कम जोखिम लिने अर्थात रिस्क अभटर। यद्यपि बजारमा सुरक्षित लगानी गर्न अध्ययन र अनुसन्धान आवश्यक पर्छ। त्यसैले कुनै पनि कम्पनीका आधारभूत र प्राविधिक पक्ष बुझ्नै पर्छ। हचुवाका भरमा लगानीकर्ता डुब्न पनि सक्छ।  

त्यसैले आज हामीले नागरिक लगानी कोष (सीआईटी) को आधारभूत तथा प्राविधिक पक्षलाई केलाउने प्रयास गरेका छौँ।

आधारभूत पक्ष

सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले वि.सं. २०४७ साल चैत ४ मा स्थापित सीआईटीले औपचारिक रुपमा काम भने १ माघ २०४८ बाट सुुरु गरेको हो। गत आसारबाट सीआईटीले सर्वसाधरणले पनि स्वेच्छाले आफैँ पैसा जम्मा गरेर भविष्यमा पेन्सन पाउने गरी ‘नागरिक पेन्सन योजना’ ल्याएको छ। 

सीआईटीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सेयरपुँजी १ अर्ब ६४ करोड ६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने कल–इन एडभान्समा १३ करोड ५९ लाख २६ हजार रुपैयाँ रहेको छ। सीआईटीले दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड २५ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ। यसको नेटवर्थ गत वर्षभन्दा रु. ३ ले बढेर रु. २४८ पुगेको छ भने प्रतिसेयर आम्दानी गत वर्षभन्दा रु. २ ले घटेर रु. ३६ कायम भएको छ। पुँजी बढेसँगै रिर्टन अन इन्भेस्टमेन्ट ९.४ प्रतिशतबाट घटेर ८.०४ प्रतिशत कायम भएको छ। यो हिसाबले हेर्दा पुँजी बढे पनि प्रतिफल बढाउन नसकेको देखिन्छ। 

यो वर्षको पनि ८२ प्रतिशत हकप्रद जारी गरी पुँजी कोषमा समावेश गर्न बाँकी नै देखिन्छ भने सीआईटीले हरेक वर्ष समान लाभांश दियर एकरुपता कायम गरेको पाइन्छ। सीआईटीको ५ वर्षको लाभांश दर २०१७ देखि २०२० सम्म क्रमशः २३, २३.१६, २३.२२, २३.१६ र २३.१६ रहेको छ। 

प्राविधिक पक्ष

बोलिंगर ब्यान्ड

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। सीआईटीको मूल्य रेखाले तल्लो ब्यान्डलाई छोएर फर्केकोले अगामी दिनमा केही खरिद चाप हुन सक्छ। 

हेरौँ यसको बोलिंगर ब्यान्ड

आरएसआई विन्दु

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। सीआईटीको हालको आरएसआई ५१.४२ रहेको छ। जसको अर्थ यो न्युट्रल जोनमा छ र अघिल्लोपटक यो ९२.०९ को उच्च तहमा पुगेपछि करेक्सन आएको थियो भने ४६.४६ को न्यून तहमा पुगेर फर्केको छ। यसलाई आधार मान्ने हो भने आगामी दिनमा सीआईटीको सेयरको भाउ केही समय बढ्ने देखिन्छ।

एमएसीडी लाइन

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत फेब्रुअरी १५ को दिन सेयरको मूल्य ४६८० रुपैयाँमा बिक्री सिग्नल बनेको देखिन्छ। यो लाइनलाई आधार मन्दा हिस्टोग्रममा नेगेटिभ नै छ तर विस्तारै छोटाछोटा हुँदै गएकाले बढ्ने संकेत गर्छ भने खरिद सिग्नल बनिसकेको छैन। हिस्टोग्राम भनेको तस्बिरमा देखाइएका रेखाहरु यदि तल फर्किन्छन् भने नेगेटिभ र माथि फर्किन्छन् भने पोजेटिभ हुन्छ।

 

मैनबत्ती विश्लेषण

यो कम्पनीको अन्तिम कारोबारलाई आधार मान्दा सेतो लामो मारुबुजु मैनबत्ती बनेको छ। जसले आगामी दिनमा बजार बढ्ने संकेत गर्छ। यो मैनबत्ती जति लामो भयो बढ्दै जाने हुन्छ भने जति छोटो हुँदै गयो बजार घट्दै जाने हुन्छ। यसलाई आधार मान्दा केही दिन बढ्न सक्छ।

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

प्रतिरोध १– ४५६०

प्रतिरोध २– ४६२६

प्रतिरोध ३– ४७९७

पिभट पेइन्ट– ४४५५

घटेमा सर्पोट

सपोर्ट १– ४३८९

सर्पोट २– ४२८४

सर्पोट ३– ४११३

नोट : प्राविधिक विश्लेषण एउटा आधार र औजारमात्र हो। लगानीकर्ताहरुले लगानी गर्दा जहिले पनि आफ्नो विश्लेषण र क्षमताअनुसार गर्नुपर्छ।