काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम्दानी घटेर ब्रोकरहरु आर्थिक संकटमा पर्ने भन्दै ब्रोकर कमिसन नघट्ने बताएका छन् । 

सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिसँग मंगलबार नेप्से परिसरमा भेटको क्रममा उनले सो कुरा बताएका हुन् । 

लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सीइओ साउदलाई उनले अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएपछि ब्रोकर कमिसन घटाउने भनी गरेको प्रतिबद्धताको विषय सम्झाएका थिए । ‘तपाईले पहिला मसँगको भेटमा अनलाइन आएपछि ब्रोकर कमिसन घटाउँछु भन्नुभएको थियो, तर अझै घटेन ।’ रौनियारले भने–‘ब्रोकर कमिसन घटाउने पुरानो प्रतिबद्धता पूरा गर्नुपर्यो ।’ 

रौनियारको कुरा स्वीकार गर्दै नेप्से सीइओ साउदले आफूले त्यस्तो प्रतिबद्धता गरे पनि अहिले त्यो काम गर्न नसकेको प्रष्ट्याए । ‘अनलाइन कारोबार प्रणालीपछि पनि कारोबार रकम बढ्न सकेको छैन । यसै पनि ब्रोकर साथीहरु घाटामा छन् ।’ उनले भने–‘यस्तो बेलामा ब्रोकर कमिसन घटाउँदा उनीहरुलाई ठूलो आर्थिक हानी हुनसक्छ । कतिपय ब्रोकरेज हाउस त बन्द नै हुनसक्छ, त्यसकारण पहिला प्रतिबद्धता जनाए पनि ब्रोकर कमिसन घटाउन सकिने अवस्था भएन ।’ 

सो क्रममा साउदले ब्रोकर कमिसन घटाउँदा नेप्सेको आम्दानी समेत घट्ने उल्लेख गर्दै यो काम गर्न नसकिने समेत जिकिर गरेका थिए । 

केही समयअघि ब्रोकर कमिसन परिमार्जनका लागि नेप्सेले एउटा समिति नै बनाएको थियो । त्यो समितिले ब्रोकर कमिसन घटाउन उपयुक्त भएको भन्दै प्रतिवेदन समेत बुझाएको थियो । तर, सो प्रतिवेदन समेत नेप्सेले अहिले दराजमै थन्काएर राखेको छ । 

लगानीकर्ताहरुले ब्रोकरहरुको हित मात्रै हेरेर नेप्सेले काम गर्न नहुने र लाखौं लगानीकर्ताको हित हेर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले ब्रोकर कमिसन घटाउँदा सस्टेन हुन नसक्ने ब्रोकर पलायन हुने र युवा तथा उत्साहीहरु आएर ब्रोकर कम्पनी चलाउने दाबी समेत गरेका थिए ।  

हाल नेपालको सेयर बजारमा ०.४ देखि ०.६ प्रतिशतसम्म ब्रोकर कमिसन रहेको छ । नेपालका ब्रोकरहरुले लिने यो कमिसन केही एशियाली देशभन्दा महंगो रहेको भन्दै घटाउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ ।