काठमाण्डौ । सीडी रेसियो टाइट बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहमा समस्या हुन थालेको छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीडीडी रेसियो हटाएर सीडी रेसियोको व्यवस्था गरिएको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो आउँदो असार मसान्तसम्म ९० प्रतिशत कायम गरिसक्नुपर्ने नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। 

सीडी रेसियो टाइट हुँदा अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह गर्न निकै समस्या भइरहेको बैंकरहरु बताउँछन्। पहिले नै कबोल गरिएको कर्जा पनि उपलब्ध गराउन समस्या भइरहेको उनीहरु गुनासो गर्छन्।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल पनि सीडी रेसियो टाइट हुँदै जाँदा बैंक तथा वित्तीयलाई कर्जा प्रवाहमा समस्या हुन थालेको स्वीकार गर्छन्। ‘यसका कारण बैंकहरुमा लगानी योग्य रकम (तरलता) मा दबाब परेको छ’, उनले भने, ‘तर, राष्ट्र बैंकले तरलता सहज बनाउन विभिन्न उपायहरु अवलम्बन गर्दै आएको छ।’

हाल वाणिज्य बैंकहरुको असौत सीडी रेसियो ८८.७४ प्रतिशत रहेको छ। ‘९ वटा वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ’, पोखरेलले भने, ‘बाँकी वाणिज्य बैंकहरुको ८८ प्रतिशतको हाराहारीमा रहेको छ।’

पोखरेलका अनुसार पुनरकर्जाको रकम बजारमा जान थालेपछि सीडी रेसियो पनि लुज हुँदै जाने बताए। ‘राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन खोलिसकेको छ’, उनले भने, ‘अब विस्तार पुनरकर्जाको रकम बैंकिङ प्रणालीमा गएपछि सीडी रेसियो पनि लुज हुँदै जानेछ।’

सहप्रवक्ता पोखरेल तिहारपछि बैंकिङ प्रणालीमा २५ अर्ब ४६ करोड रुपैयाँ अधिक तरलता रहेको बताउँछन्। ‘तिहारअघिसम्म १६ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता थियो’, उनले भने।

गत कात्तिक १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब २ अर्ब रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४५ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।