काठमाण्डौ। सीडीएससीले अबदेखि कुनै पनि आईपीओको हेर्न नयाँ वेब पोर्टल सञ्चालनमा ल्याएको छ। 

गोपनीयता भंग भएको भन्दै निजी अनलाइन सञ्चारमाध्यमहरुमा आईपीओ रिजल्ट प्रकाशनमा रोक लगाएको सीडीएससी हिजो बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट लगानीकर्ताहरु वञ्चित भएपछि आलोचित बन्न पुगेको थियो। हिजो बिहानै महिला लघुवित्तको आईपीओ बाँडफाँड भए पनि राति अबेरसम्म लगानीकर्ताले नतिजा हेर्न पाएनन्। 

सीडीएससीले मेरो सेयर, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक र धितोपत्र निष्कास गर्ने कम्पनीहरुको वेबसाइटमा मात्रै आईपीओ रिजल्ट हेर्न मिल्ने जानकारी गराएका थियो। तर यी तीनै निकायको वेबसाइट हिजो दिनभर नचल्दा महिला लघुवित्तको नतिजा लगानीकर्ताहरुले हेर्न पाएनन्।

लगानीकर्ताहरुको अत्याधिक चापका कारण हिजो दिनभर मेरो सेयरसहित महिला लघुवित्त र आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको वेबसाइटमा आईपीओ नतिजा नचलेका कारण लगानीकर्ताहरुले हेर्न नसकेको सीडीएससीले जनाएको छ। सोही कारण अबदेखि कुनै पनि कम्पनीको आईपीओ नतिजा हेर्नका लागि https://iporesult.cdsc.com.np/ सञ्चालनमा ल्याइएको सीडीएससीले जनाएको छ।

यो वेबसाइट सार्वजनिक निष्कासनको मात्र नतिजा राखिने र सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताहरुले एकसाथ प्रयोग गर्दासमेत सहज रुपमा सञ्चालन गर्न सकिने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएससीले दाबी गरेको छ। यो साइटमा सार्वजनिक निष्कासनको बाँडफाँड भएलगत्तै यथाशीघ्र नतिजा लगानीकर्ताहरुले हेर्न सक्ने सीडीएससीको भनाइ छ। 

महिला लघुवित्तको आईपीओको नतिजा पनि यही नयाँ साइटमा राखिएको हुँदा आफूलाई सेयर परेको वा नपरेको हेर्न पनि सीडीएससीले अनुरोध गरेको छ। 

यसैबीच हिजो दिनभर मेरो सेयर पोर्टल नचलेका कारण ईडीआईएस प्रभावित भएकोले फागुन १३ गते कारोबार भई फागुन १६ गते हुने राफसाफ तथा फछ्र्यौट हुने कारोबारको ईडीआईएस प्रविष्टि गर्न सकिने समायावधि फागुन १६ गते बिहान ६ बजेसम्मका लागि कायम गरिएको जानकारी पनि सीडीएससीले गराएको छ। 

महिला लघुवित्तको आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।