– अर्जुन तिमिल्सिना

काठमाण्डौ । आगामी साउन १ गतेबाट अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्टाएर पुँजीगत लाभकर लिने नयाँ व्यवस्था बजेटमा गरिएको छ। 

नयाँ व्यवस्थाअनुसार १ वर्षभन्दा कम समयावधिको लगानी गर्नेलाई अल्पकालीन लगानीकर्ता मानिनेछ। त्यस्तै १ वर्षभन्दा बढी समयावधिको लगानी गर्नेलाई दीर्घकालीन लगानीकर्ता मानेर सेयर बजारमा पुँजीगत लाभकर लगाइनुपर्ने छ। 

नयाँ व्यवस्था लागू भएसँगै अब सीडीएससीको प्रणालीमै मिलाउनुपर्ने भएको छ। अब जिन्सी सामग्री व्यवस्थापन विधि ‘फिफो मेथड’ बाट लगानीकर्ताको सेयर लगानी अल्पकालीन र दीर्घकालीन भने छुट्याइने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले जानकारी दिए। 

फिफो विधि भनेको ‘फस्ट इन, फस्ट आउट’ अर्थात पहिला किनेको पहिला निकाल्नु भन्ने बुझिन्छ। यो विधिबाट सेटलमेन्ट गर्दा लगानीकर्ता कुनै मारमा नपर्ने आचार्यको दाबी छ। 

३६५ दिनको के गर्ने भन्ने विषयमा द्विविधा भए पनि यसलाई अल्पकालीन मानेर करकट्टी गरिने पनि व्यवस्था छ। आचार्यले यो मिलाउन केही प्राविधिक कठिनाइ भए पनि बजेटमै व्यवस्था भएकोले साउन १ गतेबाट जसरी पनि लागू गर्नुपर्ने बाध्यता रहेको बताए। यो मेरो सेयरमा ईडीआईएस गर्दा नै देखिने र कुनै समस्या नभएको उनको भनाइ छ। 

आगामी साउन १ गतेबाट अल्पकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने बजेटमा व्यवस्था गरिएको छ। संस्थाको हकमा भने १० प्रतिशत पुँजीगत लाभकर लाग्ने छ।