– अर्जुन तिमिल्सिना

काठमाण्डौ । के तपाइँ बैंक, वित्तीय संस्था, डीपी र ब्रोकर हाउसैपिच्छे केवाईसी भर्नुपर्ने हालको व्यवस्थाले हैरान हुनुहुन्छ ? अब छिटै यो व्यवस्थाको अन्त्य हुने भएको छ। अर्थात अब छिटै पुँजीबजारमा सेन्ट्रल केवाईसीको व्यवस्था गर्न लागिएको हो। यो व्यवस्था लागू भएपछि सेवाग्राहीले एक ठाउँमा मात्रै केवाईसी अद्यावधिक गरे पुग्छ।

पछिल्लो समय ‘मेरो सेयर’ को क्षमता स्तरोन्नति गर्नुका साथै फिचरहरु थपेर समयमै आईपीओ भर्न र नतिजा हेर्न सकिने गरी सुधार गरेको सीडीएससीले अहिले सेन्ट्रल केवाईसीको व्यवस्था गर्न तीव्रगति काम अगाडि बढाएको हो। सीडीएससीले अब सेवाग्राहीको सबै विवरण एकै ठाउँमा हेर्न मिल्ने गरी सेन्ट्रल केवाईसीको काम अगाडि बढाइएको जनाएको छ। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अहिले सेन्ट्रल केवाईसीका लागि आवश्यक प्रविधि भित्र्याउनका लागि भेन्डर कम्पनी छान्ने काम सकिएको छ। ‘अब भेन्डर कम्पनीले सेन्ट्रल केवाईसीका लागि आवश्यक प्रविधि विकास गर्नका लागि आवश्यक काम गर्नेछ’, उनले भने, ‘सेवाग्राहीको डाटा व्यवस्थापनसम्बन्धी धेरै काम गर्नुपर्ने भएकोले ती काम सक्न ६ महिनाजति समय लाग्न सक्छ।’

हाललाई पुँजीबजारमा मात्रै लागू हुने यो सेन्ट्रल केवाईसीको व्यवस्था गरिने न्यौपानेले बताए। ‘विस्तारै यसको प्रभावकारितालाई हेरेर बैंक तथा वित्तीय क्षेत्रमा पनि सेन्ट्रल केवाईसीको अवधारण लागू हुन सक्छ’, उनले भने। 

सेन्ट्रल केवाईसीको व्यवस्था लागू भएपछि सेवाग्राहीले ठाउँठाउँमा आफ्नो परिचय फारम भर्ने झन्झटको अन्त्य न्यौपानेको भनाइ छ। ‘सेन्ट्रल केवाईसी कार्डले अन्य परिचयपत्रको जस्तै काम पनि गर्नेछ’, उनले भने।