काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याइएको सीडी रेसियोको व्यवस्थाले समग्र बैंकिङ प्रणालीलाई अझ मजबुत पार्ने दाबी गरेका छन्। 

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा बुधबार आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘सीडी रेसियोले बैंकिङ सिस्टमलाई जोगाउँदै झनै मजुबत बनाउने काम गरेको छ’, उनले भने, ‘यो व्यवस्थाले बैंकिङ प्रणाली झन राम्रो भएको छ।’

बैंकिङ प्रणाली देखिएको तरलताप्रतिशत इंगित गर्दै गभर्नर अधिकारीले यो बेला तरलता यस्तै हुने गरेको बताए। ‘हरेक वर्ष यो बेला तरलता टाइट नै हुन्छ’, उनले भने, ‘कर्जा लगानी बढ्दा पनि तरलता टाइट देखिएको छ, विस्तार सहज बन्दै जान्छ।’

गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान हुँदै गएको पनि बताए। ‘राम्रो रिकभरी भएको छ’, उनले भने।

अधिकारीले निजी क्षेत्रको भूमिका व्यवसायमात्रै नभएर पूर्वाधार विकासमा पनि हुनुपर्ने बताए। 

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले कोभिड शिथिल बनेको अर्थतन्त्र पुनरुत्थान नै अहिलेको मुख्य काम रहेको बताए। यसका लागि बजेटमा सहुलियतपूर्ण कर्जा, कर छुट, विभिन्न राहात प्याकेजको व्यवस्था गरिएको उनले बताए। 

देश विकासमा निजी क्षेत्रसँगै हातेमालो गर्दै अगाडि बढे छिटै समृद्धि आउने आचार्यको भनाइ थियो।