काठमाण्डौ । बैंकहरुमा निक्षेप थपिएसँगै कर्जा निक्षेप अनुपात(सीडी रेसियो) सुधार भएको छ । राष्ट्रबैंकले उपलब्ध गराएको कात्तिक ३० गतेसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा एकैदिन १६ अर्बले निक्षेप बढेपछि सीडी रेसियो समेत घटेर ८६.८५ प्रतिशतमा झरेको हो । 

कात्तिक २९ गते बैंक तथा वित्तीय संस्थाहरुमा ५१ खर्ब ६८ अर्ब कुल निक्षेप रहेकोमा ३० गते १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब पुगेको छ । 

अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४८ अर्ब रहेकोमा त्यो बढेर कात्तिक ३० गते ४५ खर्ब ६१ अर्ब पुगेको छ । यसरी वाणिज्य बैंकहरुमा एकैदिन १३ अर्बले निक्षेप बढेको देखिएको छ । 

अन्य वित्तीय संस्थाहरुमा पनि कात्तिक २९ गतेको तुलनामा ३० गते ३ अर्बले निक्षेप थपिएको छ । 

कुल कर्जा समेत कात्तिक २९ गतेभन्दा ३० गते १ अर्बले बढेको देखिएको छ । तर, वाणिज्य बैंकहरुको कर्जा बिस्तार भने बढेको छैन। 

निक्षेप बढेर सीडी रेसियो सुधार भए पनि अन्तरबैंक ब्याजदरको वेटेड एभरेज भने थोरै बढेर ८.५० प्रतिशत पुगेको छ । 

केही दिनअघि विकास बैंकहरुले आफूहरुको औसत सीडी रेसियो ८६ प्रतिशत हाराहारीमा झरेको भन्दै मंसिरदेखि लागू हुने गरी निक्षेपको ब्याजदर थोरै घटाएका थिए । चुनावी माहौल भएको र सरकारी तथा व्यक्तिगत खर्च पनि बढी हुने भएकोले प्रणालीमा निक्षेप थपिएर सीडी रेसियोमा अझ सुधार भए वाणिज्य बैंकहरुले पनि ब्याजदर घटाउनुपर्ने अवस्था बन्नसक्छ ।