-धर्म मलासी
काठमाण्डौ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा मारुती सुजुकीको स्टलमा आगन्तुक र ग्राहकहरु खचाखच देखिएका छन् । 

नेपालको चार पांग्रे सवारीको बजारमा सबैभन्दा बढी हिस्सा ओगटेका यो कम्पनीका कारहरु प्रत्येक वर्ष ग्राहकको पहिलो रोजाई बन्ने गरेका छन् । यसपटकको गाडीको कुम्भ मेलाको पहिलो दिनको दृश्यले समेत यही संकेत गरेको थियो । 

मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटो कर्पले यसपटकको नाडा अटो शोमा पनि ३ नयाँ मोडलका कारहरु सार्वजनिक गरेको छ । 

सार्वजनिक तीनैवटा मोडल स्मार्ट हाइब्रीड टेक्नोलोजीमा आधारित रहेका कारण समेत ग्राहकहरुको आकर्षणको केन्द्र बनेका छन् । कम्पनीले सियाज, अर्टिगा र एक्स क्रस गरी तीनवटा भेरिएन्टमा आकर्षक मोडलका गाडी उतारेको छ । 

यी भेरिएन्ट वातावरण मैत्री हुनुका साथै यसले इन्धन खपत घटाएर गाडीको कार्यक्षमता बढाउने र इञ्जिनमा कम दवाब र्सिजना हुने भएकाले इञ्जिनको आयु लम्बाउन सहयोग गर्ने सिजी मोटोकर्पले जनाएको छ । 

‘ग्राहकहरुले यि गाडीहरु खरिद गर्दा हुने मुख्य फाइदा भनेको गाडी चलाउँदा आरामदायी, सहज र यिनीहरुले दिने माइलेज नै हुन ।’ सिजी मोटो कर्पका मार्केटिङ हेड करुण शाक्यले भने–‘सियाज मोडलको कार एक्जिक्युटिभ स्ट्यान्र्टडको रहेको छ । यसमा आरामदायी सिटका साथै प्रिमियम फिचर्सहरु उपलब्ध छन् ।’

यसको प्रारम्भिक मूल्य ३८ लाख २९ हजार रहेको छ । त्यस्तै सिटी राइड र अफ राइड दुुबै यात्रालाई मध्यनजर गर्दै सुजुकीले अर्को मोडलको रुपमा एक्स क्रस समेत नेपाली बजारमा भित्र्याएको छ । यसको मूल्य कम्पनीले ४२ लाख ९९ हजार तोकेको छ । 

त्यसैगरी अलि ठूलो परिवारलाई लक्षित गरी कम्पनीले अर्टिगा मोडलको सात सिटे कार सार्वजनिक गरेको छ । जसको मूल्य कम्पनीले ३८ लाख ९९ हजार निर्धारण गरेको छ ।

कम्पनीले यी कारहरु सबै वर्गका ग्राहकहरुलाइ लक्षित गरी बजारमा ल्याएको शाक्यले प्रष्ट्याए ।

साथै उनले कम्पनीले फेस्टीभ अफर अन्तर्गत थुप्रै योजनाहरु ल्याएको बताए । जसअन्र्तगत २ लाखको नगद छुट, थप १ लाख स्क्र्याच कार्डमार्फत छुट, नाडा अटोशोका लागि ५० हजारसम्मको विशेष छुट र एक्सचेञ्ज बोनसको रुपमा १ लाखसम्मको छुटको अफर समेत ल्याएको छ ।