काठमाण्डौ । स्थापनाको साढे २ दशकपछि पहिलोपटक एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपाली नियुक्त भएका छन्।

हालसम्म यो बैंकको सीईओमा भारतीय नागरिकमात्रै हुँदै आएका थिए। अब भने सुदेश खालिङ पहिलोपटक एभरेष्ट बैंकको सीईओमा नियुक्त भएका छन्। यस विषयमा नेपाल राष्ट्र बैंकलाई मौखिक जानकारी गराइसकेको बैंक स्रोत बताउँछ। 

हाल बैंकका सीईओ भारतीय नागरिक गजेन्द्रकुमार नेगीलाई यही शुक्रबारबाट बिदाइ गर्ने तयारी भइरहेको बैंक स्रोत बताउँछन्। चार वर्षका लागि सीईओ भएका नेगीलाई एभरेष्ट सञ्चालक समितिले १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको बताइएको छ। एभरेष्ट बैंकमा भारतको पञ्जाब नेसनल बैंकको २० प्रतिशत हिस्सा रहेको छ। 

सुदेश खालिङले १५ दिनअघि मात्रै सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका थिए। यद्यपि सिटिजन्स बैंकले यसबारे आधिकारिक जानकारी दिएको छैन।

खालिङसँग ३ दशक बढी बैंक अनभुव रहेको छ। खालिङ सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडको सीईओ थिए। उनी लक्ष्मी बैंकबाट चारवर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए।