काठमाण्डौ । सुन व्यवसायीहरुले लामो निषेधाज्ञापछि गहना व्यवसाय पनि सुरु भएकोले वाणिज्य बैंकहरुले बिक्रीवितरण गर्ने सुनको आपूर्ति पनि सुचारु गर्न माग गरेका छन्।

सुनचाँदी व्यवसायीहरुहरुको छाता संगठन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा घोषणा गरिएपश्चात व्यापार, व्यवसायलगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले बिक्रीवितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘असार ८ गतेदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गीकरण गरी दैनिक तालिकाअन्तर्गत तोकिएको बार र समयमा व्यापारव्यवसाय चालू गरिएकोले सोही तालिकाअनुरुप सुनचाँदी गहना आदि आभूषण क्षेत्र पनि चालु भएको छ।’

अतः गहना व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट बिक्रीवितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने हुँदा सोका लागि सम्बन्धित निकायमा निर्देशन दिन महासंघले आग्रह गरेको छ। लामो समयपश्चात बजार खुलेको र निकट भविष्यमै प्रमुख चाडपर्वहरुको समय पनि आउने भएकोले विगतमा बिक्रीवितरण नभएको सुनको परिमाणसमेतलाई मनन गर्दै दैनिक ३० केजी सुन बिक्रीवितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसमक्ष महासंघले अनुरोध गरेको छ । हाल दैनिक २० केजी सुन बिक्रीवितरण हुँदै आएको छ।