काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार सुनको भाउ तोलामै एकैदिन ३ हजार ५०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँमा किनबेच भएको छ। 

समग्रमा यो साताभरि भने सुनको भाउ २ हजार ७०० रुपैयाँले बढेको छ। यसै साता सुनको भाउले नयाँ कीर्तिमान पनि कायम गरेको छ। गत बुधबार सुनको भाउ एकैदिन २ हजार ५०० रुपैयाँले बढे प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। 

यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा एकैदिन ४५ रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको छ।