काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन फेरि १ हजार रुपैयाँले बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन तोलाको ७० हजार ७०० रुपैयाँ पुगेको छ । गत शुक्रबारदेखि स्थिर रहँदै आएको सुनको भाउ मंगलबार एकैपटक १ हजार रुपैयाँ बढेको हो । यो नै नेपालको इतिहासमा सुनको भाउ सबैभन्दा बढी हो ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार र तेजाबी ६० हजार ७०० रुपैयाँ रहेको थियो । त्यसपछि आइतबार र सोमबार सुनको भाउ स्थिर रहेको थियो ।

गत साताभरि सुनको भाउ तोलाको ४ हजार २०० ले बढेको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

अमेरिक–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा सुनको भाउ चम्केको जानकारहरु बताउँछन् ।

सुनको मूल्य उच्चतम विन्दुमा पुगेसँग बजारमा किनबेच ठप्पजस्तै हुन थालेको छ। बजारमा सुन किन्नेभन्दा बच्नेको चाप बढ्न थालेपछि पछि भाउमा गिरावट आउने डरले व्यवसायीहरुले किन्न नमान्ने गरेको ग्राहकहरु बताउँछन् । व्यवसायीहरुले भने ग्राहकले सहजै रुपमा सुन ल्याएर बेच्न सक्ने दाबी गरिरहेका छन् ।