काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावटले साताको अन्तिम दिन शुक्रबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ७५० रुपैयाँमा कायम भएका छ । 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

यो साता एक दिनमात्र सुनको भाउ बढेको थियो भने बाँकी ५ दिन ओरालो लागेको छ। यो साताभरि सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले ओरालो लागेको छ। 

गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ। योसँगै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको थियो।

यो साताभरि चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ। गत शुक्रबार प्रतितोला चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।