काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य हरेक दिनजसो बुम हुन थालेको छ । यहीकारण पछिल्लो ५ दिनमै प्रति तोला सुनको मूल्यमा १३०० रुपैयाँको वृद्धि भइसकेको छ । 

सोमबार सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ वृद्धि भई प्रतितोला ५७ हजार ३ सय कायम भएको हो । 

भदौ १५ गते सुनको भाउ प्रतितोला ५६ हजार रहेको थियो । त्यसपछि हरेक दिनजसो बढ्दै भदौ २० गते(मंगलबार)सम्म आइपुुग्दा सुनको भाउ तोलामा १ हजार ३ सयले बढिसकेको छ । 

भदौ १ गते सुनको भाउ प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको थियो । यसरी भदौमा मात्र सुनको भाउ प्रतितोलामा १ हजार ८ सयले वृद्धि भइसकेको छ । 

मंगलबार कायम सुनको भाउ यो वर्षकै उच्च हो । 

सुनसँगै चाँदीको मूल्य पनि बढिरहेको छ । चाँदीको भाउ पनि ५ दिनको अवधिमा प्रति तोलामा २५ रुपैयाँले बढेको छ । भदौ १५ गते प्रति तोला ७६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी त्यसपछि प्रत्येक दिनजसो वृद्धि भई मंगलबारसम्म आइपुुग्दा ७ सय ९० रुपैयाँ कायम भएको हो । 

किन बढ्दैछ भाउ ?


उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय क्षेत्रको लगानीको वातावरण बिग्रिएको छ । यहीकारण सुरक्षित लगानीका लागि सेयरबजार, डलरबाट लगानी झिकेर अधिकांश कारोबारीले सुनमा लगानी बढाएका छन् । माग उच्च भई अन्तराष्ट्रिय बजारमै मूल्य समेत बढिरहेको छ । अन्तराष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस १३५० डलर नजिक पुुगिसकेको छ । अन्तराष्टिय बजारमै सुनको भाउ हरेक दिनजसो बढिरहँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । कोरिया र अमेरिकाबीचको तनाव तत्काल शान्त नहुने अवस्था देखिएका कारण आगामी दिनमा सुनको भाउ अझै माथि पुुग्नसक्ने प्रक्षेपण गरिएको छ । अन्तराष्ट्रिय बजारमा प्रति औंस १३५० डलर भाउ पुुग्दा नेपालमा ५८ हजारको उचाई चुम्नेछ । सुनको भाउ त्यसभन्दा पनि माथि पुुगेर दशैंअगाडिसम्म प्रति तोला ६० हजारसम्म पुुग्नसक्ने संभावना देखिएको विश्लेषकहरुको दाबी छ । 

अन्तराष्ट्रिय बजारमा सुनको भाउ गत ३० दिनको अवधिमा ५.२७ प्रतिशतले बढिसकेको छ । प्रति औंसमा ६६.३० डलरले वृद्धि भएको हो । यस्तै, गत ६ महिनाको अवधिमा सुनको भाउ ८.१७ प्रतिशत अर्थात प्रति औंसमा १०० डलरले वृद्धि भइसकेको छ । चाँदीको मूल्य गत ३० दिनको अवधिमा ९.२३ प्रतिशतले बढिसकेको छ ।