काठमाण्डौ। यो साता नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।
यो साताभरि मात्रै सुनको भाउमा ३.९० प्रतिशतले उछाल आएको हो। साताभरि सुनको भाउमा ३ हजार ८०० रुपैयाँ बढेको छ।
गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलाको ९५ हजार ८०० रुपैयाँ पुगेको छ।
यो साता कारोबारको अन्तिम दिन शुक्रबारमात्रै सुन तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३६५ रुपैयाँ कायम भएको छ। यो मूल्य नेपालकै इतिहासमा हालसम्मकै उच्च हो।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६५ रुपैयाँमा कायम भएको थियो।
कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो। अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला ‘सेफ हेभेन’ का रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।
यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १९ प्रतिशतले वृद्धि भइसकेको छ। विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान गरेका छन्। उनीहरुले अबको एक वर्षभित्र सुनको भाउ प्रतिऔँस २५ सय डलर पुग्ने अनुमान गरेका छन्। यो हिसाबले नेपालमा सुनको भाउ अबको एक वर्षको अवधिभित्र तोलाकै १ लाख २८ हजार रुपैयाँ बढी पुग्ने सम्भावना रहेको छ।
उता चाँदीको मूल्यमा पनि उछाल आइरहेको छ। आज शुक्रबार तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार १५० रुपैयाँ पुगेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago