काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आइरहेको छ।
यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको भाउमा बढोत्तरी भएको छ। आज तोलामा ७०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदीव्यवसायी महासंघले जनाएको छ। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च पनि हो।
हिजो सोमबार पनि सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँ बढेको थियो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६० रुपैयाँ कायम भएको थियो।
गत आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८६० रुपैयाँ कायम भएको थियो।
यो साताको कारोबारको तीन दिनमै सुनको भाउ तोलामै २ हजार ५०० रुपैयाँ बढिसकेको छ।
यसैगरी आज मंगलबार चाँदीको भाउमा पनि उछाल आएको छ। आज तोलामै ३५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ। चाँदीको यो हालसम्मकै सर्वाधिक मूल्य पनि हो।
हिजो सोमबार पनि तोलामै ५५ रुपैयाँ बढ्दै चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको थियो।
गत आइतबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढ्दै १ हजार १५५ रुपैयाँ पुगेको थियो।
कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो। अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला ‘सेफ हेभेन’ का रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।
यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १९ प्रतिशतले वृद्धि भइसकेको छ। विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान गरेका छन्। उनीहरुले अबको एक वर्षभित्र सुनको भाउ प्रतिऔँस २५ सय डलर पुग्ने अनुमान गरेका छन्। यो हिसाबले नेपालमा सुनको भाउ अबको एक वर्षको अवधिभित्र तोलाकै १ लाख २८ हजार रुपैयाँ बढी पुग्ने सम्भावना रहेको छ।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago