काठमाण्डौ । नेपाल बजारमा आज बिहीबार सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५६० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार तोलामा ३०० रुपैयाँ बढ्दै फाइन गोल्ड ९८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ६५ रुपैयाँ कायम भएको थियो।  

गत मंगलबार भाउ तोलामा ७०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७६० रुपैयाँ कायम भएको थियो। गत सोमबार तोलामा एकैदिन १ हजार २०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार ६० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८६० रुपैयाँ कायम भएको थियो। 

यसैबीच चाँदीको भाउ भने आज स्थिर रहँदै १ हजार २२५ रुपैयाँ नै कायम भएको छ । चाँदीको भाउ हिजो बुधबार तोलामा २० रुपैयाँ घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको थियो। 

कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो। अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला ‘सेफ हेभेन’ का रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।

यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १९ प्रतिशतले वृद्धि भइसकेको छ। विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान गरेका छन्। उनीहरुले अबको एक वर्षभित्र सुनको भाउ प्रतिऔँस २५ सय डलर पुग्ने अनुमान गरेका छन्। यो हिसाबले नेपालमा सुनको भाउ अबको एक वर्षको अवधिभित्र तोलाकै १ लाख २८ हजार रुपैयाँ बढी पुग्ने सम्भावना रहेको छ।