काठमाण्डौ । सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ । यस्तो बेलामा सुन वा सुनका गहना खरीद गर्नु निकै कठीन हुन्छ । तर, यस्तो अवस्थामा कुनै एउटा होटल सुनैसुनले बनेको छ भन्ने सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ । यस्तो होटल जहाँका प्राय सबै सामानमा सुनको जलप लगाइएको छ । कतिपय सामान २४ क्यारेट सुनले नै बनेका छन् । भियतनाममा सुनै सुनले बनेको एउटा होटलको हालै उद्घाटन गरिएको छ । 

यो होटल भियतनामको राजधानी हनोईमा रहेको छ । यो होटलमा ट्यूबदेखि लिएर ट्वाइलेटसम्म पनि सुनले चम्काइएको छ । होटलको नाम राखिएको छ: दि डोल्स हनोई गोल्डेन लेक । 

विश्वकै यस्तो पहिलो होटल २४ क्यारेट सुनबाट बनेको हो । सुनबाट बनेको होटलको इन्टेरियर जति मनमोहक छ, त्यति नै बाहिरी रुप(एक्सटेरियर पनि ) । होटल २५ तले रहेको छ । 

रोयटर्सका अनुसार यो निकै पृथक होटल बनाउनका लागि ११ वर्ष समय लाग्यो । होटलको उद्घाटन गत आइतबार भएको हो । यो होटलमा ४०० वटा रुम रहेका छन् । 

यो होटलका प्रत्येक कोठाका बाथरुमका सबै सामान पनि सुनले नै बनेका छन् । यसमा तपाईले गोल्ड प्लेटेड बाथटप, ट्वाइलेट देख्न सक्नुहुन्छ । यसबाहेक होटलका फर्निचर र अन्य अप्लाइसेन्स पनि सुनबाट नै बनेका छन् । 

यो होटलमा गोल्ड प्लेटेड इन्फिनिटी पुल, सुनकै लबी, सुनको टायलबाट निर्मित छत मात्र होइन सुनबाटै निर्माण गरिएको लिफ्ट समेत रहेको छ । 

यो होटलमा एक रात बास बस्नका लागि न्यूनतम २५० डलर तिर्नुपर्ने रोयटर्सले उल्लेख गरेको छ । होटलमा अपार्टमेन्ट समेत भाडामा लिन सकिनेछ । यसका लागि ६५०० डलर प्रति वर्गमिटरमा खर्च गर्नुपर्ने हुन्छ ।