नयाँदिल्ली । सेयर बजार सम्भावना खेल हो । जसले अनुशासित भई खेल्ने कला सिक्छ, त्यस्ता व्यक्तिले सेयर बजारमा केही लाख लगानी गरेर करोड कमाउन सक्छन् । तर, लाखको लगानी आजको भोलि वा केही महिनामै करोड चाहिँ बन्दैन । धेरै लगानीकर्ता चाँडै रिटर्नको हुटहुटीमा अल्झिँदा सेयर बजारमा डूब्छन् । तर, लामो अवधिका लागि योजना बनाएर लगानी गर्नेहरुले भने अक्सर पछुताउनुपर्दैन । 

नेपालको सबैभन्दा ठूलो आयात व्यापारको नाता जोडिएको भारतीय सेयर बजारमा पनि कतिपय कम्पनीहरुमा लामो अवधिका लागि लगानी गर्ने र धैर्यवान हुनेहरुले केही लाखलाई करोड बनाएका उदाहरणहरु भेटिन्छन् । आज हामी तपाईलाई यस्तै एउटा कम्पनीको विषयमा बताउन गइरहेका छौं । 

पछिल्लो समय भारतीय बजारमा गिरावट आइरहेतापनि यशो इण्डष्ट्रिजले आफ्ना लगानीकर्तालाई निकै राम्रो रिटर्न दिएको छ । 

करिब ५ वर्षअघि मात्रै यो कम्पनीमा केही लाख रुपैयाँ कसैले लगानी गरेको थियो भने आज त्यो व्यक्ति करोडपति बनिसकेको छ । 

मंगलबार भारतीय सेयर बजारमा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३३२.६० भारुको उचाईमा पुगेको न्यूज एजेन्सीहरुले जनाएका छन् । पछिल्लो पाँच वर्षको अवधिमा यो कम्पनीको सेयरले लगानीकर्तालाई १२५० प्रतिशतको दमदार रिटर्न दिइसकेको छ । 

तपाईले यस्ता स्टकहरुमा लगानी गर्नुअघि वित्तीय सल्लाहकारको कुरा सुन्नुपर्छ । यस्तै आफूभन्दा जानेका, बुझेका अग्रज लगानीकर्ताको मार्गदर्शन पनि तपाईलाई काम लाग्नसक्छ । त्योभन्दा बढी कुनै पनि कम्पनीको वित्तीय स्वास्थ्यको अन्तरकुन्तर केलाउने सीपको विकास गर्नुभयो भने त त्यो अझ उत्तम हुन्छ । 

यशो एक केमिकल उद्योग हो । पछिल्लो एकवर्षको कुरा गर्ने हो भने यसमा लगानी गर्नेहरुले १२ प्रतिशतले सम्पत्ति गुमाउनुपरेको छ । तर, ५ वर्षअघि लगानी गर्नेहरुलाई भने तगडा रिटर्न दिइसकेको छ । यस्ता उदाहरणले पनि सेयर बजारमा लङटर्म इन्भेष्टमेन्ट बढी लाभदायक हुन्छ भन्ने देखाउँछ । 

गत २ वर्षको कुरा गर्ने हो भने यो कम्पनीको सेयरमूल्य १६० प्रतिशतले बढेको पाउन सकिन्छ । ५ वर्षअघिको कुरा गर्ने हो भने यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०० थियो । आजको दिन १३३२.६० को उचाईमा पुगेको छ ।