काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले एक चर्चित सुन तस्करी काण्डमा संलग्नताको अभियोगमा नेपाल प्रहरीकै वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)लाई आइतबार पक्राउ गरेको छ । 

प्रहरीका वरिष्ठ अधिकारी पक्राउ गरेको सीआइबीले मुख्य अभियुक्त चाहि पक्राउ पर्न बाँकी रहेको बताएपछि यसलाई निकै चासोको साथ हेरिएको छ । नेपालमा भइरहने सुन तस्करी काण्डमा बहालवाला अर्थमन्त्री कृष्णबहादुर महराको संलग्नताको पोल यसअघि उनी आफैंले खोलेका थिए । उनले सुन तस्करी काण्डको बिषयमा बोल्ने क्रममा आफू त यो प्रकरणको भूरा माछा मात्र भएको, ठूलो माछाका अगाडि आफूू सामान्य भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि यो घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको सीआइबीले एसएसपी श्यामबहादुर खत्रीलाई पक्राउ गरे पनि अर्थमन्त्री र उनले भन्ने गरेको ठूलो माछोसम्मलाई पक्राउ गर्ने आँट गर्ला या नगर्ला चासो बढेको छ । 

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुखले मुख्य अभियुक्त गिरफ्तार हुन बाँकी रहेको बताएका छन्, तर ती अभियुक्त को हुन् भन्ने बिषयमा खुलाइएको छैन । पुस १५, २०७३ को दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्रिएको करिव ३४ किलो सुनसहित केही व्यक्ति समातिएका थिए । पक्राउ परेकाहरुले दिएको बयानकै आधारमा सो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी खत्रीलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । 

नेपाल प्रहरीका सहप्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिको बयानका आधारमा खत्रीको समेत संलग्नताको संभावना देखिएकोले नियन्त्रणमा लिइएको बताए । 

सुनसँगै केही व्यक्ति गिरफ्तार गरेको प्रहरीले अनुसन्धानका क्रममा विमानस्थलमा कार्यरत केही सरकारी कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ ।

सुन तस्करीको ठूलै सञ्जाल रहेको बताउने सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआईजी) नवराज सिलवालले कोही पनि नछुट्ने दाबी गरे । उनले भने–‘प्रमुख अभियुक्त पक्राउ पर्न बाँकी छन् । स्वदेश र विदेशमा रहेर संगठीत रुपमा काम गर्ने कोही छुट्दैनन्, ठूलो माछा चाहे जति नै ठूलो किन नहोस् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य अन्तर्राष्ट्रिय नाकाबाट सुन तस्करी हुने घटना कयौं वर्ष अघिदेखि सार्वजनिक हुँदै आएका छन् । तर अधिकांश समय भरिया समातेर ठूलालाई उन्मुक्ति दिंदै आइएको थियो । बहालवाला मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको कनेक्सन रहने गरेका कारण यस्ता ठूला–ठूला काण्ड सेलाउँदै आएका थिए । 

महरामाथि यस्तो थियो आरोप
बिमानस्थलमा करिब ३४ किलो सुन पक्राउ परेपछि त्यसमा अर्थमन्त्री कृष्णबहादुुर महराको संलग्नता रहने गरेको आरोप लागेको थियो । विभिन्न खबरहरुमार्फत अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयात हुने गरेको बताइएको थियो । ३४ किलो सुनसहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको भन्दै केहीअघि मिडियाहरुमा खबरहरु छाएका थिए । 

‘अवैध सुन ल्याउने को–को हुन भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाइ कडा कारवाही गर्ने हो भने यसको रहस्य खुल्छ । सरकारका माथिल्लो तहका सबैलाइ सुन तस्करबारे थाहा छ । तर सुन तस्करीको जालो अर्थमन्त्रीसँग जोडिएकाले भरिया शाही पक्राउ परे पनि सुनका वास्तविक मालिक गुमनाम छन् ।’ केही दिनअघि काठमाण्डौको एक सशक्त साप्ताहिकले खबर प्रकाशन गरेको थियो । 

मुख्य रुपमा भन्सार कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट अवैध रुपमा सुन आउने गरेको कुरा योपटक पनि प्रमाणित भइसकेको छ । स्रोतका अनुसार विमानस्थल भन्सारमा सुन तस्करीको सेटिङ मिलाउनकै लागि अर्थमन्त्री महराले माओवादी समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा दुई महिनाअघि सरुवा गरेका थिए । 

महराका छोरा निर्मल महरा ’एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनमा सुन तस्करी गर्नकै लागि सापकोटालाइ एयरपोर्ट पठाइएको केही मिडियाहरुले दाबी गरेका थिए । 

संगठीत अपराध पुष्टि भएमा १५ वर्षसम्म कैद हुनसक्छ । एयरपोर्ट भन्सारमा लामो समयदेखि रेडियो टेक्निसियन विन्दुकाजी महर्जन, तथ्यांक अधिकृत श्रीनारायण यादव र प्रमुख भन्सार अधिकृत टंक पौडेलले नै सुन तस्करीमा सेटिङ गर्दै आइरहेका समेत केही मिडियाहरुले सार्वजनिक गरेका थिए । 

यी सबै तथ्य, तर्क र चर्चा, अनि अर्थमन्त्री महराको घुमाउरो स्वीकारोक्तिले समेत ठूला सुन काण्डमा उनको कतै न कतै कनेक्सन देखिएको छ । अब सबैको मनमा एउटै जिज्ञासा छ–सीआइबीले सुन तस्करी काण्डका ठूला माछा समात्ने आँट गर्ला कि नगर्ला ?