काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ तोलकै १ लाख रुपैयाँ नजिक पुगेको छ।
पछिल्ला केही दिनयता सुनको भाउमा उछाल आएसँगै तोलकै १ लाख रुपैयाँ नजिक पुगेको हो। यो साता कारोबारको दोस्रो दिन सोमबार तोलामै १ हजार २०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६० रुपैयाँ पुगेको छ। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८६० रुपैयाँ कायम भएको थियो।
गत साता कारोबारको अन्तिम शुक्रबार सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३६५ रुपैयाँ पुगेको थियो।
यसैगरी सोमबार चाँदीको भाउमा पनि उछाल आएको छ। आज तोलामै ५५ रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। चाँदीको यो हालसम्मकै सर्वाधिक मूल्य पनि हो।
हिजो आइतबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढ्दै १ हजार १५५ रुपैयाँ पुगेको थियो।
कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो। अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला ‘सेफ हेभेन’ का रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।
यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १९ प्रतिशतले वृद्धि भइसकेको छ। विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान गरेका छन्। उनीहरुले अबको एक वर्षभित्र सुनको भाउ प्रतिऔँस २५ सय डलर पुग्ने अनुमान गरेका छन्। यो हिसाबले नेपालमा सुनको भाउ अबको एक वर्षको अवधिभित्र तोलाकै १ लाख २८ हजार रुपैयाँ बढी पुग्ने सम्भावना रहेको छ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago