काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले यही मंसिर २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरिनेछ। 

त्यसैगरी सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन पाउनेछन्। 

यो आईपीओमा आयोजना (अतिप्रभावित क्षेत्र इलाम जिल्लाका इलाम नगरपालिका (बारबोटे)५, इलाम नगरपालिका (सुङ्बेक) २ र माईजोगमाई–५ सोयोङ्का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता छुट्याइएको छ। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। 

स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ६ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २१ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ। 

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ६ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। 

स्थानीयले भने इलामको प्रकाशपथस्थित गुडविल फाइनान्स, इलामको चोकबजारस्थित माछापुच्छ्रे बैंक, इलामको भानुपथस्थित सानिमा बैंक, इलामको सितलीस्थित सानिमा बैंक र इलामको बरबोटस्थित सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।