काठमाण्डौ । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ३१ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। 

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन यो आईपीओ निष्कासन गर्न लागेको हो। यो आयोजना करिब ६५ प्रतिशत सम्पन्न भइसकेको छ। आगामी २०७८ साल पुसभित्र विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको छ। 

यसैबीच कम्पनीले यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। 

नियुक्तिसम्बनधी सम्झौतापत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्प ज्योति ढुंगानाले हस्ताक्षर गरेका छन्।