काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ। 

कम्पनीको १०० अंकित दरका कुल २ करोड १० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सूचीकृत भएसँगै आइतबारबाट कारोबारमा आउने भएको छ। किनकि कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आइतबारबाट किनबेच गर्न सकिने भएको छ। 

नेप्सेमा यो कम्पनीको संस्थापक समूहको १ करोड ७८ लाख ५० हजार कित्ता, स्थानीयको १० लाख ५० हजार कित्ता र सर्वसाधारणको २१ लाख कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले यो कम्पनीलाई ‘एसएमएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ९९.८० रुपैयाँ र अधिकतम २९९.४० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

आइतबार नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा सेयर किनबेच भएको खण्डमा नियमित समयका लागि कारोबार खुल्नेछ।