काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयले आज पुस ७ गते आवेदन दिन अन्तिम दिन रहेको छ। 

कम्पनीले गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमिा रहेका नेपालीका लागि हिजो पुस ६ गतेसम्म आवेदन खुला गरिएको थियो। स्थानीयले भने आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। मागबमोजिम आवेदन परेकोले आज बैंकिङ समयपछि निष्कासन बन्द गरिने क्यापिटलको भनाइ छ। 

कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि बिक्री खुला गरेको थियो। स्थानीयका लागि जारी कुल कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।

त्यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख ३५ हजार कित्ता निष्कासन गरिएको छ। 

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। उनीहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।