काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका लागि ‘अति आवश्यक’ सूचना लुकाएर राष्ट्रबैंकले ठूला खेलाडी र समूहलाई सुनियोजित ढंगले सहयोग गरिरहेको हो कि भन्ने आशङ्का उब्जिएको छ । 

नेपाल राष्ट्रबैंकले दैनिक रुपमा अपडेट गर्नुपर्ने कर्जा तथा निक्षेपको अवस्था, कर्जा–निक्षेप अनुपात(सीडी रेसियो), बैंक दर लगायतका महत्वपूर्ण सूचकहरु सम्बन्धी जानकारी सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक नगरेर बजारका ठूला खेलाडी तथा समूहलाई मात्र उपलब्ध गराइरहेको हो कि भन्ने आशङ्का गरिएको हो । 

कतिपयले त राष्ट्रबैंकका केही अधिकारीहरुको सेयर बजारका ठूला खेलाडी र समूहसँगको कनेक्सनका कारण जानाजान सर्वसाधारणलाई सूचनाबाट बञ्चित गराइएको र सीडी रेसियोजस्तो बैंकिङ प्रणालीको तरलताको ताजा अवस्था देखाउने सूचकको दैनिक अपडेट केन्द्रीय बैंकले सबैले देख्ने गरी आफ्नो वेबसाइटमा गर्न छाडेको दाबी गरेका छन् । 

‘सर्वसाधारण लगानीकर्ताले तरलताको अवस्था के रहेछ, त्यसका आधारमा पनि भविष्यमा बैंक ब्याजदरमा हुनसक्ने उतारचढावको आँकलन गर्ने गरेका छन् । तरलता सहज हुन थाल्यो भने ब्याजदर घट्नसक्ने र तरलता टाइट हुँदै गयो भने ब्याजदर बढ्नसक्ने आम मानिसको बुझाई हुन्छ ।’ बजारका एक अगुवा लगानीकर्ताले भने–‘ब्याजदर बढ्ने अवस्था भयो भने लगानीकर्ताको मनोबल गिर्न थाल्छ, घट्ने अवस्था भयो र तरलतामा सुधार हुन थाल्यो भने मनोबल बढ्न थाल्छ । तर राष्ट्रबैंकले यति महत्वपूर्ण सूचनाको दैनिक अपडेट गर्दैन ।’ 

यही सूचना राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने गरेको रिपोर्टिङ प्लेटफर्मबाट दैनिकजसो बाहिरिरहेको समेत पाइएको छ ।

यसले पहुँच हुनेहरुले सूचनामा चलखेल गरी बजार प्रभावित पारिरहेको प्रष्टै बुझ्न सकिने एक जानकार बताउँछन् । नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले थपे–‘राष्ट्रबैंकलाई कर्जा तथा निक्षेप लगायतको अवस्थाको विषयमा बैंक तथा वित्तीय संस्थाहरुले दैनिक रिपोर्टिङ गर्नुपर्छ । रिपोर्टिङका लागि छुट्टै साइट नै छ । अघिल्लो दिनको रिपोर्टिङका आधारमा भोलिपल्ट सीडी रेसियो लगायतका विषयका महत्वपूर्ण जानकारी दिन कुनै अप्ठ्यारो छैन । तर, जानाजान लुकाउने काम भइरहेको देखिन्छ ।’ 

ती बजार विज्ञकाअनुसार नेपाल राष्ट्रबैंकको वेबसाइटमा मंगलबार साँझसम्म पनि २५ मईकै डेटा राखिएको छ ।

राष्ट्रबैंकको वेबसाइटमा मंगलबार साँझसम्म पनि २५ मईकै सीडी रेसियो छ ।

......................................

निक्षेप र कर्जाको अवस्था तथा सोही आधारमा तय हुने सीडी रेसियो तथा अन्य बैंक रेटहरु समेत २५ तारिखको मात्र राखिएको छ । आज ३१ मई हो, गत शुक्रबार अर्थात २७ मईसम्मको सीडी रेसियो समेत वेबसाइटमा अपडेट गरिएको छैन । जब कि राष्ट्रबैंकको वेबसाइटमा २५ मईको सीडी रेसियो र २७ मईको सीडी रेसियो फरक छ । उदाहरणका लागि २५ तारिखको वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.३१ प्रतिशत रहेको थियो, तर २७ तारिखको सीडी रेसियो ९०.२६ प्रतिशत मात्र रहेको छ ।

बैंकहरुको रिपोर्टिङपोर्टलमा देखिएको २७ मईको सीडी रेसियो र अन्य सूचकहरु ।

..........................................................

सीडी रेसियो घट्न थालेको यो महत्वपूर्ण सूचनाबाट सर्वसाधारण लगानीकर्तालाई राष्ट्रबैंकले बञ्चित गराउने काम गरेको छ । 

सीडी रेसियोमा सोमबार अझै सुधार भएको एक बैंकरले जानकारी दिए । 

अरु त अरु नेपाल राष्ट्रबैंकले दैनिक सूचना उपलब्ध नगराउँदा वाणिज्य बैंकका सीइओहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनले पनि जेठ १३ गते(४ दिनअघि)को डेटाका आधारमा सीडी रेसियो गणना गरी मिडियाहरुलाई पठाएको छ । सो दिनसम्मको औसत सीडी रेसियो ९०.४१ प्रतिशत रहेको छ । 

एनबीएले मंगलबार अपरान्ह ४ बजे मिडियाहरुलार्य मेल गर्दा उल्लेख गरेको मई २७ को औसत सीडी रेसियो र रिपोर्टिङ पोर्टलमा उल्लेख सोही दिनको सीडी रेसियो मिल्दैन । 

................................................

यसरी हेर्दा एकातिर सही सूचनाको प्रवाह नभएको, परस्पर विरोधी सूचना प्रवाह भएको र सही सूचनासम्मको पहुँच सर्वसाधारणका लागि स्थापित नगरिएको देखिन्छ । 

निकायपिच्छे सीडी रेसियोजस्तो सम्वेदनशील इण्डिकेटरको विषयमा फरक फरक सूचना प्रवाह हुँदा समेत राष्ट्रबैंक चूपचाप बस्नुले पनि हदैसम्मको बेवास्ता भइरहेको बुझ्न गाह्रो पर्दैन । 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले निक्षेप, कर्जा र सीडी रेसियोको तथ्याङ्क दैनिक रुपमै राष्ट्र बैंकले अद्यावधिक गर्नुपर्ने नियम रहेको बताए। ‘सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन दैनिक रुपमा यी तथ्याङ्कहरु अद्यावधिक हुनुपर्छ’, उनले भने। 

लामो समयदेखि तथ्याङ्क नहुने गरेको बिजशालाको जिज्ञासामा सहप्रवक्ता पोखरेलले प्राविधिक कारणले दैनिक रुपमा अद्यावधिक नभएको हुन सक्ने बताए। ‘यद्यपि यस विषयमा सम्बन्धित शाखामा बुझेर तथ्याङ्कहरु दैनिक रुपमा अद्यावधिक गर्न भन्नेछु’, उनले भने।