काठमाण्डौ । सूर्योदय लघुवित्त र वोमी लघुवित्तबीच आपसमा मर्जरमा जाने सम्झौता भएको छ।

दुवै लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा हिजो मंगलबार सम्झौतापत्र हस्ताक्षर भएको हो। सम्झौता भएसँगै दुवै लघुवित्तले ६ सदस्यीय संयुक्त मर्जर कमिटी पनि गठन गरेका छन्। जसमा सूर्योदय र वोमीका तर्फबाट ३÷३ जना प्रतिनिधि रहेका छन्। 

स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय र काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया पूरा गर्ने सहमति बनेको छ। मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने संयुक्त मर्जर कमिटीका एक सदस्यले जानकारी दिए। सेयर स्वाप रेसियो भने मूल्यांकनकर्ताबाट टुंगो लगाइने बताइएको छ। 

यसैगरी मर्जर सम्झौता भएसँगै सूर्योदय र वोमी लघुवित्तले सेयर कारोबार रोक्का राखिदिन नेप्सेलाई पत्र पठाएका छन्। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार वोमी लघुवित्तको प्रतिकित्ता १ हजार ६०९ रुपैयाँ कायम भएको छ।

यसैगरी अन्तिम कारोबार मूल्यअनुसार सूर्योदय लघुवित्तको प्रतिकित्ता १ हजार ७१३ रुपैयाँ रहेको छ।