काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने भएको छ । 

स्याङ्जामा रहेको सूर्योदय र नवलपरासीमा रहेको त्रिलोकबीच मर्जरमा जाने सहमतिपत्रमा हिजो बिहीबार हस्ताक्षर भएको हो । सहमतिपत्रमा सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका लेखनाथ खानियाले हस्ताक्षर गरेका छन् । दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्टका आधारमा स्वाप रेसियो कायम गर्ने सहमति पनि भएको छ । 

आर्थिक वर्ष २०७५/७६ तेस्रो चौमासिक प्रतिवेदनअनुसार सूर्योदयको खुद नाफा २.६५ करोड र चुक्ता पुँजी १०.७९ करोड रुपैयाँ रहेको छ । त्यस्तै त्रिलोकको खुद नाफा ३१.१९ करोड र चुक्ता पुँजी ३.०९ करोड रुपैयाँ रहेको छ । 

मर्जरपछि संस्थाको नाममा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड नै राख्ने र यसको प्रधान कार्यालय पोखरामा राखिने सहमति भएको छ । मर्जरपछि संस्थाको अध्यक्षमा लेखनाथ खानिया, सीईओमा मोक्षप्रसाद पंगेनी र डेपुटी सीईओमा राजेन्द्र न्यौपाने रहनेछन् । 

हाल २३ जिल्लामा कारोबार गर्दै आएको सूर्योदय र १० जिल्लामा कारोबार गर्दै आएको त्रिलोक मर्जरमा गएपछि शाखा कार्यालयहरुको संख्या ६३ पुग्नेछ भने यसका सदस्यको संख्या ५४ हजार पुग्ने बताइएको छ ।