काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा स्याङ्जाको पुतलीबजारस्थित सहयात्री पार्टी प्यालेसमा बिहान ८ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लािग प्रस्तावित कुल १६.१५३४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५.३४५७ प्रतिशत बोनस सेयर र ०.८०७६ प्रतिशत नगद (लाभांश कर) रहेका छन्। 

हाल संस्थामा संस्थापक समूहको ७८.२४८२ प्रतिशत र सर्वसाधारण समूहको २१.७५१७ प्रतिशत हिस्सा रहेको छ। सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त लघुवित्तसँग गाभ्न, गाभिन र प्राप्ति गर्न आवश्यक सम्पूर्ण क्रियाकलाप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १९ गतेदेखि चैत ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १८ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।