काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४४४.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड १८ लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि उल्लेख्य वृद्धि भएर ४ करोड १० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ४७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड ७८ लाख रुपैयाँमा सीमित थियो।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ३ अर्ब १६ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी २९ करोड ७६ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ५२.८५ प्रतिशतले बढेर १९ करोड ५८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १२ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४३.३१ रुपैयाँ, पीई रेसियो ३९.५५ गुणा र प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ रहेको छ।