काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित ३ लाख ९ हजार ३०२ कित्ता हकप्रद सेयर कात्तिक २४ गतेदेखि लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले गत भदौ ८ गतेदेखि असोज १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । जसमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारण समूह तर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता सेयर कम्पनीले लिलामीमा राख्न लागेको हो ।

कम्पनीको लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. १०० मा तोकिएको छ । लगानीकर्ताले न्यूनतम मूल्यभन्दा बढी मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । आबेदकले न्यूनतम १०० कित्ता वा त्यसभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेस गर्न सक्नेछन् । संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारणतर्फ अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल र कम्पनीको वीरगन्ज, नेपालगन्ज, बुटलव, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखामा बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले मंसिर १ गतेसम्म लिलामीमा सहभागिता जनाउन सक्नेछन् ।