काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले सगरमाथा फाइनान्सलाई १०० : ९५ सेयर स्वाप अनुपातमा गाभ्ने भएको छ । 

बैंकको आइतबार त्रिपुरेश्वरमा सम्पन्न विशेष साधारणसभाले सगरमाथा फाइनान्सलाई माथि उल्लिखित सेयर स्वाप रेसियोमा गाभ्ने प्रस्ताव पारित गरेको हो । 

बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सगरमाथा फाइनान्सलाई गाभ्ने स्वीकृति दिएको बैंकले जनाएको छ । सगरमाथा फाइनान्स सेञ्चुरीमा गाभिएपछि उसका १०० कित्ता सेयर हुने लगानीकर्ताले सेञ्चुरी बैंकको ७५ कित्ता सेयर पाउनेछन् । 

सगरमाथा फाइनान्सको चुक्तापूँजी ७४ करोड रुपैयाँ रहेको छ । सेञ्चुरी बैंकको हाल ४ अर्ब ७१ करोड चुक्तापूँजीमा ७४ करोड थप हुने र बैंकले १ अर्ब ८८ करोड पूँजी हकप्रदबाट जुटाउनेछ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको प्राप्तिको प्रक्रिया समेत अन्तिम चरणमा रहेको र यी दुुई संस्थाबाट थप ५० करोड पूँजी प्राप्त हुनेछ । यी सबै प्रक्रियाबाट ८ अर्ब पूँजी पुर्याउन अपुुग रकम चालुु आर्थिक वर्षको मुनाफाबाट बोनस दिएर जुटाउने बैंकको पूँजी रणनीति छ ।