काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सलाई खरिद गरी उसँगको संयुक्त बित्तीय कारोबार आगामी असार ३१ गतेदेखि थाल्ने भएको छ । 

बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै सगरमाथा फाइनान्सलाई प्राप्तिपछि सेञ्चुरी कमर्सियल बैंककै नाममा असार ३१ गते एकीकृत कारोबार सुरु हुने स्पष्ट पारेको हो । 

आगामी शनिवार दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सेञ्चुरी र सगरमाथाको एकीकृत बित्तीय कारोबार समुद्घाटन गर्नेछन् । 

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई १०० बराबर ९५ को सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो । संयुक्त कारोबारका लागि सिस्टमको अपग्रेडेसनको काम हुने भएकोले साउन १ गते सगरमाथा फाइनान्स र सेञ्चुरी बैंकको कारोबार बन्द रहने बताइएको छ । 

हल सेञ्चुरी कमर्सियल बैंकको चुक्तापुँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सगरमाथा फाइनान्सबाट बैंकमा ७२ करोड पूँजी थप हुनेछ । 

सेञ्चुरी कमर्सियल बैंकले निकट भविष्यमै चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर बिक्री गर्दैछ । सेञ्चुरीमा हालै गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले पनि ४० प्रतिशत हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । तर सगरमाथाका सेयरधनीले भने यो अवसर पाउने छैनन् । 

यस्तै, सेञ्चुरी कमर्सियल बैंक अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई समेत प्राप्तिको प्रक्रियामा छ । यी दुुई संस्था गाभिएपछि सेञ्चुरीको चुक्तापूँजीमा ५० करोड रुपैयाँ थप हुनेछ । चालुु आर्थिक वर्षको आर्जन गरेको खूद मुनाफाबाट बोनस सेयर जारी गरेर यो बैंकले सहजै ८ अर्ब चुक्तापूँजी पुर्याउनेछ ।