-सोमनाथ बास्तोला

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत फोर्स मर्जरको रणनीति नबाएपछि केही सेलाएका बैंकरहरु संभावित मर्जरका लागि फेरि तात्न थालेका छन् । 

मौद्रिक नीतिमा ‘फोर्स मर्जरको नीति’ नै नल्याए पनि राष्ट्रबैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर गरी ठूलो साइजको बन्नुपर्ने र क्रस होल्डिङ भएका सेयरधनीहरुको विवरण संकलन गरी पहिलो चरणमा एउटै परिवारका विभिन्न बैंकमा भएको लगानीलाई टार्गेट गरी जुनसुकै बेला मर्जरमा जानसक्ने निर्देशन आउनसक्ने विश्लेषणसहित बैंकरहरु भित्रभित्रै संभावित मर्जरको छलफलमा छन् । 

लामो समयदेखि यस्तै छलफलमा सहभागी प्राइम कमर्सियल बैंक र सेञ्चुरी बैंकका मुख्य संचालकहरु आपसमा मर्ज भई अगाडि बढ्ने विषयमा लगभग सहमतिनजिक पुगेका छन् । 

उच्च स्रोतका अनुसार दुई बैंकका केही मुख्य प्रमोटर उही र एउटै परिवारका छन् । यसकारण समेत यी दुई बैंकका संचालकहरुको छलफल अपेक्षा गरिएभन्दा बढी नै सकारात्मक रुपमा अगाडि बढिरहेको छ । 

यी दुई बैंकका संचालकहरुबीचको छलफल बुधबार पनि भएको थियो । कमलपोखरीस्थित प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा भएको छलफलमा दुवै बैंकका प्रभावकारी संचालकहरुको सहभागिता थियो । सो क्रममा सेञ्चुरी बैंकका संचालकहरुले सम्मानजनक प्रस्ताव आए आफूहरु एकदुई दिनमै लिखित सहमति गर्न समेत तयार रहेको बताएका थिए । 

प्राइम बैंकका संचालकहरुले भने केही समय पर्खिदिन आग्रह गरेका छन् । ‘सेञ्चुरीको प्रस्तावप्रति हामी सकारात्मक नै छौ ।’ प्राइम बैंकस्थित एक उच्च स्रोतले भन्यो–‘तर त्यसअघि हामी कन्काई विकास बैंकको प्राप्ति प्रक्रिया सकेर एकीकृत कारोबार गर्ने र त्यसपछि कैलाश विकास बैंकसँग प्राप्ति प्रक्रियालाई पनि द्रूत गतिमा सकाउने पक्षमा छौ ।’ 

स्रोतका अनुसार कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबारको समय टुंगो लगाएपछि प्राइम र सेञ्चुरीबीच मर्जरको सम्झौता हुनसक्ने संभावना देखिएको छ । 

‘दुई बैंकका संचालकबीच मिल्नै नसक्ने ठूला विषय केही पनि छैनन् । धेरै कुरा तथा प्रस्ताव समान छन् ।’ स्रोतले भन्यो–‘सेञ्चुरीले सकेसम्म चाँडो एमओयू गर्नुपर्ने भनिरहेको छ । उसले राष्ट्रबैंकले नाम तोकेरै निर्देशन दिनुअघि नै मर्जरको सहमति गरिनुपर्नेमा जोड गरिरहेको छ।’ 

सेञ्चुरी र प्राइम कमर्सियल बैंकबीच यसअघिदेखि नै मर्जरको प्रयासहरु भइरहेका थिए । 

यो बीचमा सेञ्चुरीलाई हिमालयन बैंकले लिने विषयमा पनि निकै धेरै चरणका छलफल भएका थिए । 

सेञ्चुरीका संचालक सकेसम्म राम्रो सेयर स्वाप रेसियो पाए हिमालयन बैंकसँगै मर्जरमा जान चाहेका छन् । तर, राम्रो प्रस्ताव आए प्राइमसँगै पनि जान उनीहरुलाई गाह्रो छैन । 

‘कसले कति सम्मानजनक ढंगले प्रस्ताव गर्छ भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण हो ।’ सेञ्चुरीका एक संचालकले भने–‘प्राइमले जसरी कैलाशलाई निकै सम्मानजनक ढंगले लग्यो, प्राइमले हामीलाई पनि त्यस्तै अवसर दिए हामी ऊसँग पनि मर्जर सम्झौता गर्न सक्छौ ।’ 

प्राइम र सेञ्चुरी बैंकका संचालकहरु छलफललाई जारी राख्ने र चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवस्थालाई हेरेर तथा सो बेलासम्मको विकसित घटनाक्रमलाई समेत विश्लेषण गरी ठोस निर्णय पुग्नुपर्नेमा सहमत देखिएका छन् । 

‘अन्य बैंकका संचालक समेत पहिलो क्वार्टरसम्म पर्खिने रणनीतिमा छन्, हामी पनि त्यो बेलासम्मको अवस्थालाई विश्लेषण गर्नेछौ ।’ स्रोतले भन्यो–‘तर, त्यो भन्दा अगाडि नै प्राइम र सेञ्चुरीबीच मर्जर सम्झौता भयो भने आश्चर्य नमान्दा हुन्छ ।’