काठमाण्डौ । प्रभू बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७८ ७९ को चौथो त्रैमाससम्ममा आकर्षक प्रगति गरेको छ । 

यो बैंकले अधिकांश वित्तीय सूचकमा आफूलाई सुधार गरेको हो । 

बैंकले खूद मुनाफातर्फ ११५.६६ प्रतिशतको छलाङ हान्दै १ अर्ब ३५ करोड कायम गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा ६२ करोड ९३ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड १८ लाख रुपैयाँ कायम भएको छ । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यो हिसाबले हेर्दा सेञ्चुरी बैंकले करिब १० प्रतिशतको लाभांश क्षमता बनाएको देखिन्छ । 

बैंकले अन्य मुख्य सूचकमा पनि सन्तोषजनक प्रगति गरेको देखिन्छ । अघिल्लो वर्ष ८० करोड ५४ लाख रुपैयाँमा सीमित सञ्चालन मुनाफा १ अर्ब ९५ करोडको उचाईमा पुगेको छ भने २ अर्ब ४३ करोड रुपैयाँमा सीमित खूद ब्याज आम्दानी बढेर ३ अर्ब २० करोड पुगेको छ । 

यस्तै, १ अर्ब ३२ करोडमा सीमित रिजर्बको आकार बढेर १ अर्ब ७२ करोड पुगेको छ भने निक्षेप र कर्जातर्फ पनि प्रगति भएको देखिन्छ । 

अघिल्लो वर्ष बैंकले ९३ अर्ब ४९ करोड हाराहारीमा निक्षेप संकलन गरी ७८ अर्ब ७ करोड बढी कर्जा परिचालन गरेकोमा समीक्षा अवधिमा ९८ अर्ब ९५ करोड बढी निक्षेप संकलन गरी ८८ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ । 

नाफामा आकर्षक प्रगति भएका कारण सेञ्चुरी बैंकको प्रतिसेयर आम्दानी ६.९७ रुपैयाँबाट बढेर १४.२१ रुपैयाँको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म १.९८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.५९ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.९१ प्रतिशत, आधार दर १०.२३ प्रतिशत, पीई रेसियो १२.८८ गुणा कायम भएको छ ।