काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेपछि चुक्तापूँजी २३ अर्ब ५४ करोडको उचाईमा पुगेको प्रभू बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३६ करोड ४२ लाख मात्रै वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

खूद नाफा समेत घटेको अवस्थामा नियामकीय रिजर्भमा ठूलो रकम छुट्याउनुपर्दा त्यसको असर वितरणयोग्य मुनाफामा देखिएको हो । 

बैंकले समीक्षा अवधिमा १ अर्ब १९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा प्रभू बैंक एक्लैको खूद नाफा १ अर्ब २६ करोड थियो । 

अघिल्लो वर्ष ३ अर्ब ९८ करोड रहेको सञ्चालन आम्दानी यो वर्ष घटेर ३ अर्ब ९३ करोडमा सीमित बन्न पुगेको छ भने १ अर्ब ८६ करोड रहेको सञ्चालन मुनाफा समेत घटेर १ अर्ब ६३ करोडमा आइपुगेको छ। 

अघिल्लो वर्ष  २ अर्ब ८२ करोड बढी खूद ब्याज आम्दानी गरेको प्रभू बैंकको यो शीर्षकतर्फ यसपटकको आम्दानी बढेर ३ अर्ब ३९ करोडको उचाईमा पुगेको छ । यसरी हेर्दा सेञ्चुरी बैंक मर्ज गरेपछि विजिनेशको आकार बढे पनि खराब कर्जाको प्रभिजन छुट्याउनुपर्ने लगायतका नियामकीय व्यवस्थाका कारण नाफा प्रभावित भएको देखिन्छ । 

बैंकको खूद नाफा घटेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा पनि गिरावट आएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म रु. १९.८६ रहेको इपीएस घटेर यो वर्ष १०.१९ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्षको यही अवधिसम्म बैंकको रिटेन अर्निंग १ अर्ब ३ करोड रहेकोमा घटेर समीक्षा अवधिमा ३६ करोड ४२ लाखमा सीमित बन्न पुगेको छ। 

यस्तै, ५ अर्ब ४० करोडमा सीमित रिजर्बको आकार भने ९ अर्ब ८ करोड माथि पुगेको छ । रिजर्बतर्फ मर्जरको सिनर्जी प्रतिबिम्बित भएको देखिन्छ । 

समीक्षा अवधिसम्म बैंकले २७ खर्ब ९ अर्ब कुल निक्षेप संकलन गरी २४ खर्ब ५३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १७ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी १४ खर्ब ५३ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

यो बैंकमा पनि खराब कर्जाको अनुपात बढेको देखिएको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म १.२३ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर यो वर्ष १.९८ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ६.१६ प्रतिशत रहेको कोषको लागत बढेर ८.६० प्रतिशत पुगेको छ भने बेस रेट ८.६८ प्रतिशतबाट ११.४४ प्रतिशत, पीई रेसियो २०.७० गुणा, तरलता अनुपात २१.६४ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४०.१२ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल ०.७० प्रतिशत कायम भएको छ ।