काठमाण्डौ । उद्योगकै सबैभन्दा कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको खूद नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमाससम्म ७५ करोड मात्र खूद नाफा आर्जन गरेको देखिएको हो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ करोड ४५ लाखले कम हो। 

समीक्षा अवधिसम्म ९ अर्ब ३ करोड चुक्तापूँजी रहेको कम्पनीको वितरणयोग्य मुनाफा ५९ करोड ४६ लाख रुपैयाँ रहेको छ । 

बैंकको संचालन मुनाफामा समेत गिरावट आएको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब २१ करोड रहेको संचालन मुनाफा घटेर यो वर्ष १ अर्ब ३ करोडमा सीमित बन्न पुगेको हो । 

यस्तै, अघिल्लो वर्ष २ अर्ब ६९ करोड रहेको खूद ब्याज आम्दानी पनि घटेर यो वर्ष २ अर्ब ६० करोड रुपैयाँमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष ९२ करोड ६५ लाख रहेको रिटेन अर्निङ घटेर ५९ करोड ६२ लाखमा सीमित भएको छ भने रिजर्बको आकार १ अर्ब १८ करोडबाट बढेर १ अर्ब ४२ करोड पुगेको छ। 

समीक्षा अवधिमा बैंकले ९३ अर्ब ४९ करोड बढी निक्षेप संकलन गरी ७८ अर्ब ९ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप र कर्जा क्रमशः ४३.१४ र ३४.२९ प्रतिशतले बढाएको छ । 

नाफा घटेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ५६ पैसाबाट घटेर ८ रुपैयाँ ३० पैसा कायम भएको छ।

कोरोनाकालमा पनि बैंकले खराब कर्जा भने घटाएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.११ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर  १.९५ प्रतिशत कायम भएको हो । 

समीक्षा अवधिसम्ममा बैंकको कस्ट अफ फण्ड ५.६६ प्रतिशत, आधार दर ७.८० प्रतिशत, सीडी रेसियो ७९.३८ प्रतिशत, पीई रेसियो ३५.०५ गुणा, प्रतिसेयर नेटवर्थ १२२.३४ रुपैयाँ,  र तरलता अनुपात २७.६७ प्रतिशत कायम भएको छ।