काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज जेठ ४ गते अन्तिम मौका रहेको छ। 

बैंकले गत वैशाख २१ गतेदेखि १ हजार रुपैयाँ अंकित दरमा कुल २२ लाख इकाइ भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र जारी गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक ग्लोब आइएमई क्यापिटलले जनाएको छ। 

बैंकले कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। जसमा १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम ८ लाख ७० हजार इकाइसम्म आवेदन दिन पाउनेछन्। ऋणपत्रमा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

सेन्चुरी बैंकको यो १० वर्ष अवधिको ऋणपत्र हो। यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।