– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कुनै पनि बैंक, वित्तीय संस्था वा कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ। सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, चोरी, ठगीलगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसीको अवधारणा ल्याइएको हो। नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम नै बैंक तथा वित्तीय क्षेत्रमा हरेक ग्राहकको विवरण भन्ने बुझिन्छ। 

बैंक तथा वित्तीय क्षेत्रमा मात्रै नभएर सेयर कारोबारका लागि हरेक ब्रोकर, क्यापिटल तथा डीपीले आफ्ना ग्राहकको केवाईसी अद्यावधि गर्ने गर्छन्। केवाईसीमा ग्राहकले आफ्नो स्थायी तथा अस्थायी बसोबासदेखि नागरिक र प्यान नम्बर, फोन नम्बर, ई–मेल आईडीजस्ता व्यक्तिगत विवरण अद्यावधि गर्नुपर्छ। 

हरेक ठाउँमा केवाईसी भर्नुपर्ने भएकोले ग्राहकले निकै झन्झट पनि भोग्दै आएका छन्। यही समस्यालाई समाधान गर्न सीडीएससीले अब ‘सेन्ट्रल केवाईसी’ कार्यान्वयनमा ल्याउन लागेको छ। यो सेन्ट्रल केवाईसी हाल नेपाल धितोपत्र बोर्डले तयार गरेको निर्देशिकाअनुसार हुनेछ। 

हाललाई सेन्ट्रल केवाईसी धितोपत्र कारोबारका लागिमात्र हुने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार धितोपत्र कारोबारमा विश्वसनीय भएपछि बैंक तथा वित्तीय क्षेत्रमा पनि यो अवधारणा लागू हुन सक्ने उनको भनाइ छ। 

आचार्यले अबको एक महिनाभित्र सेन्ट्रल केवाईसी परीक्षणका रुपमा लागू गरिने जानकारी दिए। ‘आउँदा आर्थिक वर्षको पहिलो त्रैमासभित्रै सेन्ट्रल केवाईसीको अवधारणा पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ’, उनले भने। 

सेन्ट्रल केवाईसी अहिले ग्राहकले लिने गरेको प्यान नम्बरजस्तै हुने आचार्यको भनाइ छ। ‘सेन्ट्रल केवाईसीमा उल्लेखित नम्बरका आधारमा ग्राहकको पहिचान गर्न सजिलो हुनेछ’, उनले भने।